0
असार १०, २०७३- यस वर्षको राष्ट्रिय कविता महोत्सवमा ललितपुरका कवि मणिराज सिंह अब्बल ठहरिएका छन् । ‘लोकतन्त्रको अस्मिता’ कविता मार्फत उनले यस वर्ष महोत्सवमा प्रथम स्थान हासिल हुन् ।
नेपाल प्रज्ञा प्रतिष्ठानको ५९औं वार्षिकोत्सव तथा हिरक महोत्सव प्रवेशका अवसरमा बिहीबार राजधानीमा आयोजित महोत्सवमा उनले देशभरका ४५ कविलाई उछिनेका हुन् । कमलादीस्थित प्रतिष्ठानमै आयोजित महोत्सवमा लोकतन्त्र र राष्ट्रियतामा आउन सक्ने सम्भावित खतरा औंल्याउँदै कवि मणिराज सिंहले सुनाए–
समयको बटुकोमा जमाएर स्वाभिमान
माछाको टाउकोसित
देश टोकिखानेहरूले
कालसर्पको यज्ञकुण्डभित्र
चेतनाहरू डढाएर
रगतको काँचो इतिहासमा
अनुुवाद गर्नेछन् मनको कोलाज
त्यतिखेर,
कलिला नानीहरूलाई
उच्छृङ्खल इन्द्रेणीसित
आफ्नै चोखो बैंस साटिएको
होससमेत हुनेछैन
राजनीतिक अकर्मण्यताले ...

महोत्सवमा नुवाकोटका पुरु लम्सालको ‘घर फर्कने सपना’ द्वितीय, सिन्धुपाल्चोकका त्रिलोचन आचार्यको ‘म नेपाली’, अर्घाखाँचीका असीम सागरको ‘टेको’ र मोरङकी मञ्जुश्री गिरीको ‘पीरको झरीले रुझिरहेको देश’ शीर्षक कविता तृतीय भयो । महोत्सवमा देशविदेशबाट तीन सय ३३ कविता प्राप्त भएका थिए, तीमध्ये प्रा. केशव सुवेदी, हेमनाथ पौडेल, लक्ष्मी माली, वियोगी बुढाथोकी र ध्रुव मधिकर्मी रहेको छनोट समिति पुरस्कृत रचना छानेको हो । प्रधानमन्त्री केपी ओलीद्वारा उद्घाटित महोत्सवमा यस वर्ष स्रष्टाहरूको राम्रो सहभागिता रहेको थियो ।
प्रथम, द्वितीय र तृतीय (तीन जना) हुनेहरूलाई क्रमश: ३० हजार, २५ हजार र २० हजार रुपैयाँसँगै प्रमाणपत्र र पदक प्रदान गरिने प्रतिष्ठानले जनाएको छ । पुरस्कार भने विशेष कार्यक्रमको आयोजना गरी राष्ट्रपति विद्यादेवी भण्डारीबाट वितरण गरिने बताइएको छ । महोत्सवअन्तर्गत कविता वाचन समारोहको प्रमुख अतिथि भने कवि शैलेन्द्र साकार थिए । उनैले अमेरिका छँदा लेखेका कविता वाचन गर्दै दोस्रो सत्र उद्घाटन गरेका थिए । यसपछि अतिथि कविका रूपमा राम विनय, उषा शेरचन, कणाद महर्षि, डा. मदन दाहाल, बाबा बस्नेत, पवन आलोक, वासुदेव अधिकारी लगायतले कविता सुनाए ।
महोत्सवबारे प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, उपकुलपति विष्णुविभु घिमिरे लगायतले प्रकाश पारेका थिए ।
Source:www.ekantipur.com

Post a Comment

 
Top