0
असार १७, २०७३- ब्राजिली फरवार्ड हल्क एसियाली फुटबलका सबैभन्दा महँगा खेलाडी बनेका छन् । चाइनिज सुपर लिगको टिम सांघाइ एसआईपीजेले हल्कलाई जेनिट सेन्ट पिटर्सबर्गबाट झन्डै ५ करोड ६० लाख युरोमा अनुबन्धित गरेको छ ।
इंग्ल्यान्डका पूर्वप्रशिक्षक स्येन गोरान एरिक्सन सांघाईका प्रशिक्षक हुन् । हालैको ट्रान्सफर विन्डोमा चाइनिज क्लबहरूले २० करोड पाउन्ड खर्च गरेका थिए । २९ वर्षे हल्कले गत सिजनमा रुसी टिम जेनिटका लागि २१ गोल गरेका थिए ।
जिएङसु सुनिङले एलेक्स टेक्सेरियालाई ३ करोड ८४ लाख ४० हजार पाउन्डमा भित्र्याउनु एसियाली फुटबलको यसअघिको सबैभन्दा ठूलो सरुवा रकम थियो । सन् २००८ मा पोर्टो लाग्नुअघि हल्कले तीन जापानिज् क्लबबाट खेलेका थिए । उनी २०१२ मा पोर्टोबाट जेनिट लागेका थिए ।
सांघाईबाट उनीसँगै घानाका पूर्वखेलाडी असामोह जियानले पनि खेल्नेछन् । गत सिजनमा चाइनिज सुपर लिगमा उपविजेता बनेको सांघाई हाल जारी लिगमा चौथो स्थानमा छ । चाइनिज फुटबल संघले २०५० सम्ममा ‘विश्व फुटबल सुपरपावर’ बन्ने भन्दै मार्चमा योजना सार्वजनिक गरेको थियो । हाल विश्व फुटबल वरीयतामा ८१ औं स्थानमा रहेको चीन २००२ मा एकपटकमात्र विश्वकप फुटबलमा छनोट भएको छ ।
गोन्जाउ आर एन्ड एफबाट सन् २०१३ मा सांघाई आएका एरिक्सनले लिगको आम्दानीले अझ ठूला नाम भएका खेलाडीलाई आकर्षित गर्ने बताएका थिए ।
Source:www.ekantipur.com

Post a Comment

 
Top