असार २१, २०७३- होल्डिङ मिडफिल्डर सामी केडिराले पनि युरो २०१६ को सेमिफाइनलमा आयोजक फ्रान्ससँगको खेल गुमाउने भएका जर्मनीका प्रशिक्षक जोचिम लोले सोमबार बताएका छन्।
उनलाई क्वाटरफाइनलमा इटालीसँगको खेलमा मांसपेशीमा चोट लागेको थियो । उनले प्रतियोगितामा जर्मनीका सबै खेल खेलेका छन् । शनिबारको खेलमा चोट लागेपछि उनलाई चाँडै परिवर्तन गरिएको थियो ।
‘सामी केडिरा बिहीबार खेल्ने छैनन् । सम्भावित फाइनल खेल्नका लागि उनलाई हामी सबै किसिमको प्रयास गर्नेछौं,’ युभेन्ट्सका २९ वर्षीय खेलाडीबारे प्रशिक्षक लोले भने, ‘अब म नयाँ नाम ल्याउनेछु । पहिलो रोजाइमा व्यक्ति परिवर्तन हुनेछ ।’
जर्मनीले निलम्बनका कारण सेन्ट्रल डिफेन्डर म्याट्स ह्युमेल्स र घाइते भएकाले स्ट्राइकर मारियो गोमेजलाई यसअघि नै गुमाइसकेको छ । इटालीसँग पेनाल्टी सुटआउटमा जित हात पारेको खेलमा घाइते भएका गोमेज प्रतियोगिताका बाँकी खेलमा पनि फर्कन सक्ने छैनन् ।
उनी जर्मन टिमका एकमात्र विशेषज्ञ फरवार्ड हुन् ।
केडिराको स्थान इमरे कानले लिन सक्ने लोले बताए । ‘उनी थुप्रै फरक पोजिसनमा प्रयोग गर्न सकिने खेलाडी हुन् । ट्रेनिङमा पनि उनी विश्वासिला छन् । शारीरिक रूपमा पनि निकै बलिया र कुशल छन् । मेरो विचारमा उनले खेल धेरै राम्रो बनाउँथे,’ उनले भने ।
लिगमेन्टमा समस्या देखिएका कप्तान बास्टन स्वान्सटेगर खेल्नेमा पनि शंका छ । उनी पूर्णरूपमा फिट नभए बिहीबार नखेलाउने प्रशिक्षक लोले बताएका छन् । ‘हामी आफ्नो टाउको बालुवामा लुकाउँदैनौं ।
शंका लागेका खेलाडीलाई सबै किसिमको प्रयास गर्नेछौं,’ उनले भने, ‘एउटा कुरा भने निश्चित छ कि म शतप्रतिशत फिट नभएका खेलाडीलाई खेलाउने छैन । बास्टिन फिट हुने आस छ र यसका लागि कामना गर्दछु ।
उनले थपे, ‘मैले धेरै वर्षअघि पूर्ण फिट नभएका खेलाडीलाई खेलाएर गल्ती गरेको थिएँ र त्यो दोहोर्याउन चाहन्नँ । विगतमा जान चाहन्नँ तर अगाडि बढ्नुपर्छ । सबै खेलाडीप्रति मेरो पूर्ण विश्वास छ । उनीहरू ट्रेनिङमा उच्चस्तरका छन् । उनीहरू शारीरिक रूपमा पनि राम्रो अवस्थामा छन् ।’
Source:www.ekantipur.com

Post a Comment