असार १६, २०७३- लन्डनस्थित विश्वविख्यात लर्ड्स क्रिकेट मैदानमा पहिलोपटक नेपाली टिमलाई स्वागत गर्न प्रतीक्षारत छ, नेपाली समुदाय । बेलायत नेपाल कूटनीतिक सम्बन्ध स्थापनाको दुई सय वर्षका अवसरमा आगामी जुलाई १९ मा एमसीसी (मेरिलेबोन क्रिकेट क्लब) र नेपाली क्रिकेट टिमबीचको मैत्रीपूर्ण खेल हुँदैछ ।
‘नेपाली खेलाडीलाई लर्ड्समा स्वागत गर्न हामी आतुर छौं,’ खेल हेर्न टिकट र जर्सी लिइसकेकी सरला पौडेलले भनिन्, ‘हाम्रा लागि यो गौरवको विषय र राष्ट्रका लागि केही गर्ने अवसर पनि हो ।’ उक्त ऐतिहासिक खेलमा कम्तीमा दस हजार दर्शक जुटाउन यहाँको नेपाली समुदाय जुटेको छ । बेलायती, पाकिस्तानी, श्रीलंकाली र भारतीयमूलका दर्शकसमेत उतार्ने तयारी भइरहेको आयोजक मूल समितिले जानकारी दिएको छ । खेलका लागि लन्डनस्थित नेपाली दूतावास, गैरआवासीय नेपाली संघ बेलायत र नेपाल पर्यटन बोर्ड यूकेसहित कैयौं नेपाली संघसंस्थाले प्रत्यक्ष सघाएका छन् ।
‘सांस्कृतिक पर्वकै रूपमा मनाउन त्यस दिन नेपाली संस्कृति झल्कने झाँकी, भेषभूषा वा झण्डासहित सहभागी हुन हामीले आग्रह गरिरहेका छौं,’ कार्यवाहक राजदूत तेजबहादुर क्षेत्रीले भने ।
खेलका लागि कप्तान पारस खड्कासहित १४ खेलाडी र अफिसियल आगामी ११ जुलाईमा लन्डन आउने तय भएको छ । १९ जुलाईमा ५० ओभरको म्याच खेल्नुअघि नेपाली क्रिकेट टिमले विभिन्न क्लबसँग विभिन्न ठाउँमा चारवटा अभ्यास खेल खेल्ने तय भएको छ ।
एमसीसीले मिडलसेक्स क्रिकेटका पूर्व एवं हाल समरसेट क्रिकेट क्लबका खेलाडी किथ डचलाई कप्तान छनोट गरेको खेलको प्रचारप्रसारमा जुटेका युवा प्रशान्त कुँवरले बताए । उनले म्याच हेर्न पाउनु नेपाली डायस्पोराका लागि सुनौलो अवसर भएको र यसले स्थानीय समुदायबीच समायोजनमा प्रमुख भूमिका खेल्ने पनि उल्लेख गरे ।
सन् १७८७ मा स्थापित विश्वकै प्रख्यात क्रिकेट क्लब एमसीसीसँग खेल्न आउने नेपाली टिमलाई विभिन्न संघसंस्थाले सम्मान गर्ने कार्यक्रमसमेत छ । प्रवेश शुल्कबाट संकलित रकममध्ये पचास प्रतिशत नेपालको पुनर्निर्माण एवं पचास प्रतिशत क्रिकेट विकासमा जाने भएकाले सबै बेलायतवासी सहभागी भइदिन आयोजकले आग्रह गरेको छ ।
एमसीसी र नेपाली क्रिकेट टिमबीचको सम्बन्ध सन् २०१३ देखि प्रगाढ हुँदै गएको हो । त्यही साल दुई नेपाली खेलाडी नरेश बुढाऐर र राजेश पुलामी दुई महिनाका लागि लर्ड्समा प्रशिक्षण लिन गए भने सन् २०१५ मार्चमा पारसले एमसीसीमा आबद्ध भएर दुबईमा खेले ।
गत नोभेम्बरमा एमसीसी नेपाल गएर खेलेको थियो । प्रशान्त कुँवरको निम्तोमा सन् २०१४ मा पारस खड्का लन्डन आउँदा उनले एमसीसी हेड अफ क्रिकेट जोन स्टेफेन्सन र इंग्ल्यान्ड क्रिकेट बोर्ड आबद्ध पूर्वकप्तान माइक ग्याटिङसँग भेट गरी नेपाललाई इङलिस क्लबसम्म जोड्न सकिनेबारे छलफल गरेका थिए
Source:www.ekantipur.com

Post a Comment