असार २४, २०७३- फ्रान्सेली फुटबलले पाएका अहिलेसम्मका सबैभन्दा ठूला स्टारमा मानिन्छन्, मिचेल प्लाटिनी । युरो २०१६ मा एन्टोन ग्रिजमनको प्रदर्शन कति राम्रो र निर्णायक रहेको छ भने उनको तुलना तिनै प्लाटिनीसँग गर्न थालिएको छ । ग्रिजमन कति भलाद्मी छन् भने आफूलाई प्लाटिनीसँग तुलना गरिएको पटक्कै चित्त बुझाउँदैनन । उनको आसय छ, ‘कहाँ प्लाटिनी, कहाँ म ।’ तर उनको अहिलेको प्रदर्शन युरो २०१६ मा फ्रान्सको फाइनलसम्मको यात्रामा निर्णायक जस्तै रहेको छ ।
जर्मनीविरुद्ध फ्रान्सले हात पारेको २–० जितमा पनि दुवै गोल ग्रिजमनको नाममा रह्यो । यसपल्टको प्रतियोगितामा उनले गरेको गोल संख्या छ पुगिसकेको छ । प्लाटिनीले युरोको एकै संस्करणमा नौ गोल गरेका थिए । ग्रिजमन कम्तीमा त्यसको नजिक पुगेका छन् । त्यसैले फ्रान्सेली फुटबल समर्थकले उनलाई ‘लेजेन्ड’ मान्न थालिसकेका छन् । तर उनले अहिलेसम्म तय गरेको फुटबल यात्रा आफैमा जति अविश्वनीय छ, त्यत्तिकै अद्धितीय पनि छ ।
विश्वकप विजेता जर्मनीविरुद्ध उनको प्रदर्शन वास्तवमै माथिल्लो दर्जाको रह्यो । जर्मनीका म्यानुएल नोयालाई अहिलेको पुस्ताका सबैभन्दा राम्रा गोलरक्षक मानिन्छ । तिनै नोया अगाडि ग्रिजमन अब्बल दर्जाका रहे । कुनै समय थियो, फ्रान्सेली क्लब फुटबलले उनलाई स्विकारेको पनि थिएन, उनको सानो शरीरका कारण । उनी लियोन क्लबका समर्थक थिए, त्यही क्लबको छेउछाउमा हुर्के, फुटबल खेल्न सिके । तर सानोमा त्यही लियोनले पनि उनलाई एकेडेमीमा भर्ना गर्न मानेको थिएन ।
लियोनलाई लागेको थियो, ग्रिजमनको जीउ सानो छ, पछि बढ्न नसक्ने पो हो कि ? अहिले यस्तै शरीरका धनी २५ वर्षीय ग्रिजमन फ्रान्सेली फुटबललाई अर्को ठूलो सफलता दिलाउन सक्ने संघारमा छन् । आइतबार फाइनलको नतिजा जस्तै भएपनि ग्रिजमनको व्यक्तिगत उपलब्धीतर्फ कसैले आँखा चिम्लिन सक्ने छैनन् । उनको प्रशंसामा फ्रान्सेली प्रशिक्षक डिडिएर डेस्याम्पले भनेका छन्, ‘ग्रिजमन माथिल्लो दर्जाका खेलाडी हुन् । जर्मनीविरुद्ध उनले आफै प्रमाणित गरे, उनले मैदानमा कतिसम्म गर्न सक्छन् भनेर ।’
उनको दाबी थियो, ‘फ्रान्सका लागि अहिलेसम्म उनी मुख्य खेलाडी रहेका छन् । उनी गोल गर्न माहिर छन् नै, अरुका लागि गोलको अवसर पनि सिर्जना गर्छन् ।’ ग्रिजमनले १४ वर्षको उमेरमै फ्रान्स छाडेका थिए । उनको प्रतिभालाई पहिलो पल्ट चिनेको थियो, स्पेनको बास्क क्लब रियल सोसिडाड । सोसिडाडले किशोर ग्रिजमनलाई आफ्नो एकेडेमीमा निम्त्याएको थियो र त्यसपछि त उनले तय गरेको यात्रा सबैसामु प्रस्ट जस्तै छ ।
ग्रिजमन सन् २०१४ सम्म सोसिडाडमा रहे । त्यसपछि उनी एटलेटिको म्याड्रिडसँग आवद्ध भए । एटलेटिको प्रशिक्षक डिएगो सिमोनी आफैले फोन गरेर ग्रिजमनलाई क्लबमा आउने प्रस्ताव राखेका थिए । पछिल्लो समय एटलेटिकोले प्राप्त गरेका सफलतामा ग्रिजमनको भूमिका उत्तिकै महत्त्वपूर्ण रहेको छ, जस्तो अहिले फ्रान्सका लागि । यसपल्टको युरोमा पनि उनी सायद पहिलो रोजाइका फरवार्ड हुने थिएनन्, यदी टिममा करिम बेन्जमा भएका भए ।
रियल म्याड्रिडका यी बेन्जमा यौन काण्डमा फसे । उनीमाथि ‘ब्ल्याकमेलिङ’ को आरोप छ र यसै कारण उनलाई टिममै राखिएन । कसैले गुमाएको अवसर अरु कसैलाई आफू सिद्ध गर्ने मौका हुने गर्छ । ग्रिजमनले यस्तै गरे । फाइनलमा फ्रान्सको प्रतिद्वन्द्वी टिम रहेको छ, पोर्चुगल । पोर्चुगाली टिमका कप्तान क्रिस्टियानो रोनाल्डो ग्रिजमनका लागि व्यक्तिगत रूपमा पनि प्रतिद्वन्द्वी खेलाडी हुन् । किनभने उनीहरू दुई फरक म्याड्रिड क्लबबाट खेल्ने गर्छन् ।
हालैको युरोपेली च्याम्पियन्स लिग फाइनलमा पनि यिनै दुई क्लब भिडेका थिए । त्यसको निर्णय टाइब्रेकरमा भएको थियो र ग्रिजमन पेनाल्टीमा चुके । नतिजा, रियलले कीर्तिमान ११ औं पल्ट च्याम्पियन्स लिग जित्न सफल रहे । यसपल्ट फाइनलमा ग्रिजमन आफ्नो फ्रान्सेली टिमका लागि जित्न मात्र प्रेरित हुने छैनन्, उनी एटलेटिकोका लागि रोनाल्डोको रियलसँग पनि बदला लिन आतुर हुनेछन् । यी ग्रिजमन आफ्नो खेल जीवनको सबैभन्दा महत्त्वपूर्ण मोडमा छन् ।
Source;www.ekantipur.com

Post a Comment