0
असार १४, २०७३- बेलायतमा सन् १९६० को दशकदेखि नेपालीको आगमन आगमन सुरु भएको विश्वास छ । केही अपवाद बाहेक भारतीय लगानी रहेको रेष्टुरेन्टमा काम गर्न यता छिरेको थियो पहिलो पुस्ता । उनीहरुमा शैक्षिक योग्यता कम थियो । उनीहरु पश्चिमा संस्कृति, भाषा र रहनसहनमा त्यति घुलमिल हुन चाहँदैनथे वा अप्ठेरो थियो । सन् २००४ र २००९ मा बेलायतले अवकास प्राप्त गोर्खा र तिनका परिवारलाई आवासीय अधिकार दियो । अध्ययनका लागि बिस्तारै उच्च सीप भएका र हजारौं विद्यार्थी ओइरिए ।
सन् २००८ मा बेलायतमा रहेका नेपालीको जनगणना गरेको सेन्टर फर नेपाल स्टडिज यूकेको भनाइमा अहिले बेलायतमा नेपाली जनसंख्या करिब ८५ हजार छ । तर, अहिले धेरैलाई यो संख्या करिब डेढ लाख छ भन्ने लाग्छ । अब पुरानो पुस्ता अवकास जीवन व्यतिततिर लाग्दैछ र उनीहरुको ठाउं ‘रिप्लेस’ गर्दैछन् युवा वा दोश्रो पुस्ताले ।
यही परिप्रेक्ष्यमा पुरानो र नयां पुस्ता अन्तर के छ भन्नेबारे अध्ययन शुरु भएको छ । पुस्तान्तर छुट्याउने जिम्मा नेपाली जनगणना गरेको सेन्टर फर नेपाल स्टडिज यूकेले नै लिएको हो । युवाहरुको सामाजिक क्रियाशिलता, शैक्षिक र व्यवसायिक स्तर कस्तो छ ? के चाहन्छन् युवा ?बेलायती परिवेशमा हुर्किंदा के कस्ता समस्या र चुनौती रहे ? जस्ता पक्षमा अध्ययन गर्न लागिएको सेन्टरका कार्यकारी निर्देशक लोकेन्द्र ढकालले जानकारी दिए । संस्थाले उक्त ‘पाइलट रिसर्च’ का लागि फार्नबोरो र रेडिङ क्षेत्रका एकसय नेपाली घरधुरी छानेको छ ।
अध्ययनकै क्रममा गत सप्ताहन्त रेडिङस्थित वेयरहाउसमा आयोजित एउटा कार्यशालामा जिसिएसइ, ए लेभल, कलेज, युनिभर्सिटी र व्यवसायिक क्षेत्रमा लागेका युवाहरुएकत्रित भए । कार्यशालाको उद्देश्य युवाहरुबीचको अन्तरक्रियाबाट शैक्षिक र व्यवसायिक अवस्था कस्तो छ र त्यो अवस्थालाई प्रभाव पार्ने कारणहरु के हुन् बुझ्नु थियो ।
सेन्टरका कार्यकारी निर्देशक ढकाल, अनुसन्धाताहरु डा. कृष्ण अधिकारी, डा. चन्द्र लक्सम्बा, डा. गंगाराम दाहाल र डा. नवीन आचार्यले सञ्चालन गरेको कार्यक्रममा युवाहरुमा बेलायती
राजनीतिक सहभागिताको सम्भाव्यताबारे समेत छलफल भयो । युवा स्थानीय समुदाय र पाश्चात्य संस्कृतिसंग धेरै घुलमिल भएका कार्यशालाको निष्कर्ष छ । ‘उल्लेख्य महिला सहभागी कार्यशालामा उनीहरुको चेतनास्तर एवं प्रस्तुति पुरुष भन्दा पृथक र सकारात्मक देखियो’, ढकालले भने ।

दिनभर चलेको कार्यक्रममा युनिभर्सिटी अफ वारवीककी प्राध्यापक एलिनोर नेसबिटले किनोट एड्रेस दिएकी थिइन् ।
Source:www.ekantipur.com

Post a Comment

 
Top