असार ३, २०७३- राप्ला ५ मालकी ११ वर्षीया आसाना धामीका बुवाले ज्यालादारी काम गर्छन् । ज्यालामा काम नपाए व्यर्थैमा दिन बित्छ । घरको आर्थिक अवस्था कमजोर छ । त्यसैले आसाना पढाइ खर्च जोहो गर्न राप्ला गाविसको मल्लो दुदवन पाटनमा यार्चा संकलनमा आएकी छन् ।
उनी घरबाट दुई दिन हिँडेर आएकी हुन् । सिसिहंधार निमाविकी आसानाले डेढ महिनाका लागि कापी, किताब घरमै थन्क्याएकी छन् । ‘गत वर्षको यार्चाले वर्षभरिको पढाइ खर्च र ३ महिनाको घरायसी खर्च धानेको थियो,’ उनले भनिन्, ‘यसपालि अघिल्लो वर्षझंै यार्चा संकलन भएन् । पढाइ खर्चमै सीमित हुने भइयो ।’
खपीनसक्नु जाडोको प्रवाह नगरी जिल्लाका मार्मा र दुहु क्षेत्रका बालबालिकादेखि वृद्धवृद्धासम्म यार्चासंकलनमा पाटन पुगेका छन् । समुद्र सतहदेखि ३ हजार मिटरको उचाइमा यार्चा संकलन गरिन्छ । जाडोसँगै लेक लाग्ने समस्याले संकलकलाई सताएको छ । लेक लागेर थलिएपछि कैयौं संकलक रित्तो हात फर्केको धौलाकोट ४ का देवसिंह धामीले बताए ।
जिल्लाका उत्तरी भेगका अधिकांश विद्यालयमा अध्ययनरत विद्यार्थी पढाइ छाडेर यार्चा संकलनमा जुटेका छन् । यो सिजनमा दुहु र मार्मा क्षेत्रमा अधिकांश अभिभावकको पनि पाटनहरूमा भीड लागेको छ । कतिपय विद्यार्थी पढाइ नै छाडेर आएका छन् । केही विद्यालय बन्द गरिएका छन् । विद्यार्थी र शिक्षक दुवै यार्चाकै खोजीमा जुटेका छन् ।
राप्ला गाविसकै श्रबहित निमावि दुम्लिङको ६ कक्षामा अध्ययनरत अर्चना जोहारी विद्यालय बन्द भएपछि पाटन आएर यार्चा टिप्न व्यस्त थिइन् । सिजनमा राप्ला गाविसका प्राथमिकबाहेक अन्य तहका विद्यालय बन्द छन् । बर्खे बिदाबाट कटाएर एक महिना बन्द गरिएका हुन् ।
Source:www.ekantipur.com

Post a Comment