0
असार ७, २०७३- योगको शाब्दिक अर्थ जोड हो । मिलन अनि एकता हो । यो पूर्ण जीवन शैली, चिकित्सा पद्धति र आध्यात्म विद्यासमेत हो । योग मनुष्यलाई सकारात्मक चिन्तनको प्रशस्त पथमा ल्याउने अद्भुत माध्यमसमेत हो । स्वस्थ व्यक्ति र सुखी समाजको निर्माण योगको सहयोगबाट सम्भव छ । 
संयुक्त राष्ट्रसंघले ६९ औं महासभाले २१ जूनलाई अन्तरर्राष्ट्रिय योग दिवस मनाउने घोषणा गरेर यसलाई आत्मसात गरिसकेको छ । जसले ऋषिमुनी परम्परा (विरासत) को प्रभाव छाएका नेपाल र भारत समेतमा सकारात्मक सन्देश दिएको छ । 
मानवको मानसिक तथा शारीरिक विकार (व्याधी) हरूबाट मुक्ति दिलाउने सम्बन्धमा योग अनुष्ठानका विभिन्न विधिहरू– आसन, प्रणायाम, सूक्ष्म व्यायाम, दण्ड–बैठक, सूर्य नमस्कार, सहज व्यायाम गरी ७९ अभ्यास छन् । जुन नेपालमा पनि योग पारखीहरूका लागि एउटा जीवनशैली बनेको छ । शारीरिक विकास र मानसिक विकासबाट मुक्तिको सहायक सिद्ध हुँदै गएको छ । योग स्व:अनुभूति हो । यो स्वास्थ्यलाई प्रत्यक्ष फाइदा (तुरुन्त अनुभव हुने) दिने प्राणायाम हो । जसबाट हामी अनुभव गर्छौं कि यो एन्टिएजिङ प्रोसेस र अक्सिजन थेरापी पनि हो ।
यसबाट हाम्रो शरीरमा रोगसँग लड्ने ऊर्जा, मेटाबोलिजमका साथै दर्शन शक्ति, श्रवण शक्ति, सुघ्ने शक्ति, बोलीमा सरसता, अनुहारमा आभा, ओज, तेज, मस्तिष्कमा ज्ञान शक्ति एवं पेटमा पाचनशक्ति प्राप्त गर्न सक्छौं । 

वास्तवमा प्राणायाम, शरीरभित्र आन्तरिक शक्ति र अथाह ऊर्जा प्राप्तिको स्रोत हो । एक प्रकारको विपश्यना पनि । प्रसन्नता हामीभित्र छ, जुन प्रणायामबाट बाहिर प्रस्फुटन हुन्छ । उद्वेग चिन्ता, क्रोध, निराशा, भय, कामुकता आदि मनोविकारहरूको समाधान प्राणायामद्वारा सहजतापूर्वक गर्न सकिन्छ । अनि दिब्य जीवनको प्राप्ति हुन्छ । नेपालका यसको व्यापकता यति बढेको छ, घर—घरसम्म पुगेको छ ।

यो हाम्रो देशमा केही सीमित व्यक्तिहरूका बीचमा पहिल्यैदेखि चलिआएको थियो । योग ऋषि रामदेव र आचार्य बालकृष्णले सुरु गरेको योगले २०६४ सालयता हाम्रो देशमा व्यापकता पाएको हो । व्यापक सञ्चार भई सहरदेखि गाउँ—गाउँसम्म अनि घर—आँगनमा पुग्न सफल भयो । पल–पलमा प्रतिकूलताभित्र काम गर्ने नेपाल प्रहरी संगठनभित्र अनुकूलताको वातावरण सिर्जना गर्ने उद्देश्यले योग प्रशिक्षण र अभ्यासले व्यापकता पाएको छ ।

नेपाली सेना, सशस्त्र प्रहरी, निजामती कर्मचारी, उच्च राजनीतिक नेताहरूसमेत व्यक्तिगत तथा संस्थागत तवरले योग प्रशिक्षणमा सहभागी भई अभ्यास गरिरहेका छन् । यसलाई वैदिक वन्दना, राष्ट्रिय गान र देशभक्ति गानका साथमा अभ्यास गराइन्छ । यसरी योग अभ्यास गर्दा स्फुर्ती र उत्साह बढेर आउँछ । राष्ट्र, राष्ट्रियता र स्वयंकाप्रति सजग भइन्छ ।

अनुसन्धानहरूले औषधीले ठिक गर्न नसक्ने पुराना–पुराना (क्रोनिक) रोगमा समेत योगले सुधार आएको देखाएका छन् । बढ्दो प्रदूषण, गरिबी, तनावपूर्ण जीवन आदिका कारण नेपालमा धेरै खाले रोग बढ्दै गएका छन् । तिनका लागि लाभदायक भएकाले पनि योग महत्त्वपूर्ण छ ।

योगमा प्राणायामसँगै शारीरिक अभ्याससमेत गराइने भएकाले शरीरको लचकता र फुर्तीपनाका लागिसमेत यो उपयोगी छ । मधुमेह, रक्तचाप, बाथजस्ता रोगलाई नियन्त्रण गर्न सबैभन्दा राम्रो उपाय नै योग हो । आज अन्तर्राष्ट्रिय योग दिवसको समारोह संयोजन गर्न सरकारले शिक्षामन्त्रीको नेतृत्वमा पर्यटनमन्त्री र अन्य सरकारी निकायहरूलाई परिचालन गरेको छ । यसले पनि योगको व्यापकतालाई पुष्टि गर्छ । 

योग रूपान्तरणको विज्ञान हो । रूपान्तरण केवल शरीरमा वा मनमा मात्र होइन, समाजमा हुन्छ । यसको पछिल्लो उदाहरणका रूपमा पवित्र तीर्थस्थल देवघाट परिसरमा रहेको मौलाकालिका मन्दिरलाई लिन सकिन्छ । जहाँ योग अभ्यास प्रारम्भसँगै यसको प्रभावबाट २०६४ सालबाट बलिप्रथा अन्त्य भयो । त्यस क्षेत्रका लागि योग र शान्तिको पर्याय मौलाकालिका मन्दिर भएको छ । यसको मुख्य श्रेय योगलाई नै जान्छ । अब स्वयम्लाई परिवर्तन गर्दै परिवार, समाज र राष्ट्रलाई नै रूपान्तरण गर्न योजनाबद्ध रूपमा सरकारले योगका कार्यक्रमलाई अगाडि बढाउनुपर्छ, जसले नेपालीमा प्रेम, करुणा, सद्भाव, समता फैलाउँछ ।

Source:www.ekantipur.com

Post a Comment

 
Top