असार ११, २०७३- एक दशकअघि ‘आवाज देउ’ ‘गाउले जीवन’ लगायत गीत गाएर धरानबाट एकाएक चर्चामा आएकी गायिका प्राश्ना शाक्य बीचमा हराइन् । तर उनी गायन क्षेत्रबाटै हराएको भने होइन । धरानमा उनले सुरुआती समयमा संघर्ष गरिन् । पहिलो एल्वम पप शैलीका सात गीत समेटेर ‘हाइ हेल्लो’ निकालिन् धरानकै म्यूजिक मिडिया रेकर्डिङ सेन्टरबाट ।
धरान छाडेर गायन क्षेत्रमा थप संघर्ष गर्न ०५८ मा राजधानी छिरिन् । ०६० मा ‘आवाज’ एल्वम निकालेर सांगीतिक क्षेत्रमा आफ्नो पहिचान बनाइन् । केही दिनका लागि गृहनगर धरान आएकी उनले भनिन्, ‘मोफसलमा भन्दा राजधानीमा संघर्ष गर्नु मुस्किल थियो । धेरैको भिडमा हराए जस्तै लाग्यो । एक प्रकारले जिरोदेखि सुरु गर्नु पर्यो । म जस्ता सयौं कलाकारहरु त्यहाँ संघर्ष गरिरहेका थिए । तै पनि म निराश हुनुको सट्टा उत्साहित भएं ।’
टीनएज, त्यसमाथि गायन क्षेत्रमा हामफालेकी नयाँ कलाकार भएपनि उनलाई धेरैले प्रोत्साहन दिए । ‘आवाज’ एल्वम निकालेपछि गीतहरु हिट भए । ‘आवाज एल्वमका गीतहरु हिट होला भन्ने मलाई लागेको थियो, उनले सम्झदै भनिन्, ‘नभन्दै चल्यो । त्यसै एल्वम पछि धेरै अफरहरु आउन थाले । देश विदेशका कन्सर्टहरुमा पनि बोलाउन थाले ।’ उनले ३० वटा नेपाली चलचित्रमा पार्श्व गीत गाइन् । अनि ०६५ मा फेरि पप गीत समेटेर ‘उदयन’ सोलो एल्वम निकालिन् । तर त्यसबेला पपको प्यार्टन परिवर्तन भएर आधुनिक गीतको माहौल बढेकाले सोचेजति सफलता हासिल नसकेको उनले बताइन् ।
धरानमा उनले संगीतको आधारभूत ज्ञानहरु भोला राई, बालमुकुन्द वनेपाली, अनुश्री व्यानर्जी, सन्देश श्रेष्ट लगायतबाट सिकेपछि आवाज एल्वम निकालेकी थिइन् । राजधानीमा उनले शास्त्रीय संगीतका लागि डोरेमी, गान्र्धभमा सिकिन् । त्यसपछि गायनका उनले आफुमा धेरै परिवर्तन भएको महसुस गरिन् । धरानमा जन्मेपनि काठमाडौंको मध्य बानेश्वरमा डेढदशकदेखि बस्दै आएकी उनले भनिन्, ‘संगीतको ज्ञान हासिल गर्दैजादा ‘अथाहा सागर’ भएको थाहा पाएँ ।’
उनलाई पहिले संगीत नबुझेको बेला ‘गीत गाउनु त जानिहालिन्छ नि’ भन्ने लागेको थियो । तर शास्त्रीय संगीतको ज्ञान अलि अलि हुन थालेपछि अहिले त मैले त सिक्नु अझै धेरै रहेछ भन्ने लाग्न थालेको बताइन् ।
‘उदयन’ एल्वमपछि विवाह बन्धनमा बाँधिएकाले गायन क्षेत्रबाट एकाएक हराइन् । विवाहपछि गीत गाउने ‘कन्फिडेन्स’ नै एकप्रकारले हराएको उनले बताइन् । गीत गाउने अफर आएपनि ‘ह्या के गाउनु भन्ने जस्तो लाग्न थालेको थियो । तर पनि इमेज एफएममा रेडियो कार्यक्रम भने गर्थें ।’
वैवाहिक सम्बन्धलाई चार बर्ष निरन्तरता दिए पनि असफल भएपछि उनले आफ्नो गुमेको पहिचानलाई कायम राख्न फेरि सांगितिक क्षेत्रमा सक्रिय हुन थालेको बताइन् । उनले भनिन्, ‘साथीसंगीले साथ र सहयोग गरे, परिवारले पनि सपोर्ट गरे पछि सक्रिय हुन थालें ।’ यसैको परिणाम गत बैशाखमा चौथो एल्वम ‘प्राश्ना’ लिएर फेरि श्रोतामाझ कमब्याक गरिन् ।
लामो समयपछि निकालेको एल्वमले उनलाई विर्सेकाहरुले पनि सम्झिए । उनले भनिन्, ‘लामोसमयको अन्तरालपछि कमव्याक गर्दा मिडियाले मलाई सपोर्ट गरे । सोचे भन्दा बढी रेस्पोन्स पाइरहेको छु । निकै उत्साहित भएकी छु ।’ प्राश्नासँगै राजधानीमा मौसमी गुरुङ, सिन्द्यु मल्ल, प्रीती कौर, माण्डवी त्रिपाठीले एकसाथ संघर्ष गरेका थिए । त्यस संघर्षमा जुना प्रसाई पनि थिइन् ।
रेडियोमा काम गरेपनि पार्टटाइमको रुपमामात्र सीमित भएपनि फुलटाइम भनेको गायन क्षेत्र नै भएको उनले बताइन् । उनले भनिन्, ‘मलाई गायन क्षेत्रबाटै पद पैसा प्रतिष्ठा मिलेको छ । संगीतमा लागेपछि मैले नाम कमाएँ, पैसा कमाएँ । यसैले मलाई राजधानीमा बचाई रहेको छ ।’ पछिल्लो समयमा उनी नयाँ एल्बम ‘प्राश्ना’को प्रचार प्रसारमा छिन् । धरानमा उनलाई धरान संगीत प्रतिष्ठनले विश्व संगित दिवसको अवसरमा बोलाएको बेला भनिन्, ‘मेरो जीवनको ड्रिम प्रोजेक्ट संगितमा होलटाइमर भएर त्यसैमा लाग्ने बाहेक अरु सोचेको छुइन ।’
दिव्य खालिङ, रत्नबहादुर खड्गी, सुगम पोखरेल, सचिन सिं, सम्भुजित बास्कोटा, सुनिल मास्के, नयाँमा हरि लम्साल, निर्णय द एनएसके लगायतसँगसँगै काम गरेकी प्राश्ना भर्सस्टाइलमा जोड दिने बताइन् । हालसम्म उनले करिव पाँचसय गीत गाइसकेकी छिन् । उनले भनिन्, ‘अव गजल पनि गाउने अवसर खोजी रहेकी छु ।’
Source:www.ekantipur.com

Post a Comment