असार २, २०७३- कवि सरिता तिवारीको कविता संग्रह ‘प्रश्नहरूको कारखाना’ बारे घोराहीमा परिचर्चा भएको छ ।
शब्दशिखा साहित्यिक अनलाइनद्वारा आयोजित कार्यक्रममा तिवारीले प्रश्नहरूले नै समाजलाई गतिशील बनाउने धारणा राखिन् । ‘प्रश्नहरूको उत्तर खोज्दा नै नयाँ बहस र सिर्जना हुन्छ,’ उनले भनिन्, ‘प्रश्न उठ्नु भनेकै नयाँ समयको मान्छे बन्नु हो । अन्य कारखानाले एउटै खाले सामान उत्पादन गर्छन् भने कविभित्रको कारखानाले धेरै थरी सिर्जना ।’
उनले आफू समाजमा रहेका जल्दाबल्दा विषयमा प्रश्न गर्न सक्ने भएको बताइन् । ‘तिनै प्रश्नहरूलाई कवितामा उतार्ने गर्छु । कतिपय भावना विद्रोही र आक्रोशित देखिन सक्छन्,’ प्रगतिवादी धारको कविताबारे उनले भनिन्, ‘म जुन वातावरणमा हुर्कें, त्यसको प्रभाव कवितामा पर्ने नै भयो । निराशावादीभन्दा प्रगतिशील भावना धेरै आएका हुन सक्छन् ।’
युवा कवि भूपेनले कवि तिवारीसँगै समीक्षक अभय श्रेष्ठलाई पनि राखेर प्रगतिवादी साहित्यबारे बहस चलाएका थिए ।
‘साहित्यले जीवनलाई प्रेरणा दिनुपर्छ । आत्महत्यातर्फ धकेल्ने साहित्य पश्चगामी हुन्छ,’ श्रेष्ठले भने, ‘साहित्यले समाजमा निराशा उत्पन्न गर्नु हुँदैन । प्रगतिवादी साहित्यले मानिसलाई आशावादी बनाउँछ । तिवारीका कविता पनि प्रगतिवादी छन् ।’
उनले अगाडि थपे, ‘उहाँका कविता पुग्न खोजेको ठाउँमा जसरी पनि पुग्ने गरी हिँड्छन् । त्यो पनि घुमाउरो होइन, सोझो बाटोबाट । लक्ष्यमा पुग्ने खालका कविता छन् ।’
पाठकहरूले तिवारी र श्रेष्ठलाई कविताले समाजलाई कस्तो सन्देश दिने, कवितामा व्यक्त भएका भावहरू कविका विचार हुन् कि होइनन्, प्रगतिवादी साहित्य कस्तोखालको हुनुपर्छ जस्ता जिज्ञासा राखेका थिए । कार्यक्रममा तिवारी र अन्यका कविता वाचन पनि गरिएका थिए ।
Source:www.ekantipur.com

Post a Comment