'राता मकै'काे जन्मदिनमा दहीचिउरासँगै सुशासन बहस - Updated News

Unordered List

test banner

Breaking

Home Top Ad

Responsive Ads Here

Post Top Ad

Responsive Ads Here

Thursday, June 30, 2016

'राता मकै'काे जन्मदिनमा दहीचिउरासँगै सुशासन बहस

असार १६, २०७३- बर्थ डे मनाउने आ–आफ्नै शैली हुन सक्छ । कोही सेलिब्रेटी अनाथालयमा खुसी साट्न पुग्छन्, कोही सामाजिक सहयोगका लागि अग्रसर हुन्छन् । यस्तै भिन्न बर्थ डे मनाउँदै आएका छन् हास्य कलाकार किरण केसी । ‘ए राता मकै’ थेगोबाट परिचित यिनले हरेक वर्ष आफ्नो जन्मदिनमा केही नौलो गरिरहेकै हुन्छन् । 
असार पन्ध्रमा जन्मेका यिनले हरेक वर्ष गर्दै आएको दही चिउरा पार्टी र कलाकार सम्मानसँगसँगै यसपटक सुशासनको सन्दर्भ जाडेर बहस चलाए । नयाँ बानेश्वरस्थित इन्द्रेणी फुड ल्यान्डमा बुधबार ‘सुशासनका लागि हास्यव्यंग्य’ विषयमा बहस चलिरहेको बेला कलाकारहरू कोही दही चिउरा खाँदै थिए, कोही फोटो सेसनमा रम्दै । 

कला क्षेत्र र सुशासनबीचको अन्तरसम्बन्धबारे बहसमा उत्रिनेहरूमा वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठदेखि कान्तिपुर दैनिकका समाचार सम्पादक हरिबहादुर थापा, कलाकारहरू सन्तोष पन्त, धुर्मुस–सुन्तली, मनोज गजुरेल, दीपकराज गिरी, संगीतकार शम्भुजित बाँस्कोटा, साहित्यकार अमर न्यौपाने लगायत ।

‘लोकतन्त्रपछि हराएको शब्द भनेको सुशासन हो,’ सञ्चारकर्मी थापाले भने, ‘र मौलाएको शब्दचाहिँ भागवण्डा । यस्तो अवस्थामा कला क्षेत्रबाट हुने खबरदारीले खास अर्थ राख्न सक्छ ।’ थापाले ‘सहमति’ र ‘पार्टीगत भागवण्डा’ कै कारण मुलुकमा सुशासन गुमिरहेको दाबी गर्दै यसविरुद्ध कला क्षेत्रबाट सचेतना अभियान चलाउन सकिने सुझाए । ‘मैले कुनै समय महजोडीको नाटक ‘विज्ञापन’ हेरेको थिएँ, जसमा २५ मतको तुजुकले निकै हंगामा मच्चाएको थियो,’ थापाले सम्झे, ‘त्यस्तै व्यंग्यात्मक प्रस्तुतिहरू निर्माण हुनु जरुरी छ ।’ 

पत्रकारितामा पनि सुशासन क्षेत्रमा दख्खल राख्ने थापाले १२ महिना सुस्ताएर बजेट सिध्याउनकै लागि असारमा काम गर्ने प्रवृत्ति अहिले विकासको बाधक बन्दै आएको समेत सुनाए । वरिष्ठ हास्य कलाकार श्रेष्ठदेखि साहित्यकार न्यौपानेसम्मले थापाको मतलाई समर्थन गर्दै कला क्षेत्र सचेतनातिर अझ बढी डोहोरिनुपर्ने बताए ।

स्टेजमा यसरी सुशासनको चर्को बहस भइरहेको भए पनि कार्यक्रममा सहभागी कलाकारहरू भने ‘रमाइलो मुड’ मा बढी उत्रिएका थिए । उनीहरू बहसतिर भन्दा पनि पत्रकारका क्यामेरातिर बढी केन्द्रित थिए । दीपाश्री निरौलादेखि झरना थापासम्मका सेलिब्रेटीहरू फोटो सेसन र सेल्फीमा व्यस्त देखिन्थे । लय संग्रौलाको कार्यक्रम प्रस्तुति शैली पनि बढी नै अनौपचारिक भएकोले हल गम्भीरतातिर मोड्नै सकेन । 

यस्तै रमाइलोबीच दीपाश्री निरौला हातमा केही कोसेली बोकेर स्टेजतिर लम्किन् । बुधबारदेखि ५९ वर्ष लागेका किरणलाई दीपाश्री, जितु नेपाल र दीपेन्द्र खनियाँ लगायतको टोलीले ३ किलोको काँचो कुखुराको मासु उपहार चढाए । हास्य टेलिसिरियल ‘ब्रेक फेल’ मा किरणले स्थापित गरेको ‘चिकेन चिल्ली’ थेगोसँग मेल खानेगरी उनीहरूले बर्थ डे गिफ्ट दिएका हुन् ।

यसरी रमाइलोतिर मोडिनु अघि भने कार्यक्रममा कलाकार वसुन्धरा भुसाल र कोमल वलीलाई सम्मान गरिएको थियो । चार वर्षदेखि जन्मदिनको अवसरमा कलाकार सम्मान गर्दै आएका किरणले यसपटक भुसाल र वलीलाई छानेका हुन् । प्रमुख अतिथि मदनकृष्ण श्रेष्ठले दुवैलाई सम्मानपत्र, दोसल्ला र जनही दस हजार रुपैयाँ अर्पण गरे । ‘हुन त जन्मदिन व्यक्तिगत नै हो,’ बर्थ डे ब्वाई किरणले भने, ‘तर केही वर्षदेखि यसलाई सामाजिक बनाउँदै आएको छु । बर्थ डे पार्टीको नाममा हुने फजुल खर्चलाई सामाजिक अर्थसहित प्रयोग होस् भन्ने मेरो ध्येय हो ।’ 

यसपटक यस्तै अर्को सामाजिक अर्थसहितको कार्य पनि गरे किरणले । उनीसँगै अर्का हास्यकलाकार शिवहरि पौडेलको पहलमा उठेको ५ लाख ५४ हजार रुपैयाँ सम्बन्धित दाताहरूमार्फत नै धुर्मुस–सुन्तली फाउन्डेसनलाई हस्तान्तरण गराए किरणले । काभ्रेको पहरी बस्तीपछि सिन्धुपाल्चोक गिरानचौरमा अर्को नमुना गाउँ बनाइरहेको हास्य जोडी सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले स्थापना गरेको फाउन्डेसनको प्राय: वक्ताहरूले प्रशंसासमेत गरे । धुर्मुस–सुन्तलीले आफ्नो कार्यको थप व्याख्या पनि गर्न भ्याए । यसपछि असार १५ को समेत सन्दर्भ पारेर कलाकारहरू दही–चिउरामा रमे ।

Source:www.ekantipur.com

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages