जेष्ठ २९, २०७३- मानव शरीरमा ५० भन्दा बढी प्रकारका ग्रन्थीहरू हुन्छन्। तीमध्ये एक हो, पुरुषमा हुने प्रोस्टेट ग्रन्थि। पुरुष आयु वृद्धि आजको सुखद यथार्थ हो र यही सम्दर्भमा प्रोस्टेट ग्रन्थीको विशेषता हेर्नुपर्ने हुन्छ। ४० वर्षपछि प्रोस्टेट वृद्धि हुँदै जान्छ र मूत्रनलीमा अवरोध उत्पन्न गर्छ। ग्रन्थी वृद्धि भएमा पिसाब फेर्दा अन्तमा धारा सानो हुन्छ। थोपाथोपा वा तुरुक्क गरेर अन्तको पिसाब निस्कन्छ। अर्थात् पिसाब फेरिसकेपछि पुरा सन्तुष्टि नहुनु प्रोस्टेटको लक्षण हुन सक्छ। लामो समयसम्म ग्रन्थी बढ्दै गए त्यसको बीच भाग बढेर मूत्र थैलीको घाँटीमै अवरोध भई पिसाब फेर्न निकै कन्नुपर्ने, पिसाब लागेर जाँदा पनि तुरुन्तै पिसाब नआउने र एकछिन कुरेमात्र पिसाब खुल्ने हुन्छ।
प्रोस्टेट ग्रन्थीको सबैभन्दा बाहिर रहेको ७५ प्रतिशत ठाउँ ओगट्ने भागमा मुख्यतया क्यान्सर उत्पन्न हुने गर्छ। नेपालमा पनि हाल दिनप्रतिदिन धेरै पुरुषमा प्रोस्टेट क्यान्सर पहिचान हुँदै आएको छ। प्रोस्टेटको मध्य भागले २० प्रतिशत ठाउँ लिन्छ। आश्चर्यलाग्दो प्रक्रिया के हुने गर्छ भने प्रोस्टेटका यी दुई ठूला भागमा करिब ३० वर्षको उमेरपछि प्रोस्टेट बढेर ९५ प्रतिशतसम्म ठाउँ ओगट्छ। यसबेला ती ठूला भाग थिचिएर छेउतिर बोक्राको रूप धारण गर्न पुग्छन्। यो सबैभन्दा सानो अन्तर्कालीन भाग बढ्ने प्रक्रियामा मूत्रनलीको बीचको प्वाल पनि साँघुरिँदै जान्छ। फलस्वरूप मूत्र प्रवाहमा अवरोध उत्पन्न हुन्छ। ग्रन्थी बढ्दै गएपछि यसको तौल जति भए पनि, पिसाब थैलीको घाँटीलाई नै यसले बिर्कोको रूपमा थिच्न सक्ने भएकाले मूत्र प्रवाहमा कल्पना गरेभन्दा बढी नराम्रो असर गर्छ।
फलस्वरूप सुरुमा मूत्रथैलीको मांसपेशी बढी मोटाउने र थैलीमा थुप्रै साना–ठूला खाल्टाहरू बन्ने गर्छन्। अन्तमा मांसपेशी शक्तिहीन भएर मूत्रथैलीको सम्पूर्ण पिसाब निष्कासन गर्न नसक्ने हुन्छ। पेटको अल्ट्रासोनोग्राफी गर्दा मूत्रथैलीमा निख्रन नसकेको पिसाब बाँकी रहेको प्रमाण अभिलेख गर्न सकिन्छ।
यस्तो प्रक्रिया लामो समयसम्म रहँदा पिसाब निस्कन निकै गाह्रो हुने र मूत्रथैलीबाट पिसाब दुवै मृगौलातर्फ फर्केर मूत्रवाहिनी नली र मृगौला फुल्ने हुनसक्छ।
यस्तो अवस्था आएको खण्डमा बिरामी प्राय: पिसाब च्यापेको त्यति महसुस गर्दैनन्। तर मूत्राशय तन्केर शक्तिहीन थैलोमा परिणत हुन्छ। त्यस्ता बिरामी राति सुतेको बेलामा ओछ्यानमै अनजानवश पिसाब चुहाउने गर्छन्। रगत परीक्षण गरेर हेरेमा उनीहरूको मृगौलाको काम गर्ने क्षमता घट्दै गरेको प्रमाण मिल्छ। यस्ता बिरामीको मूत्र सञ्चालन सक्दो छिटो व्यवस्थित तुल्याएर मृगौला बिग्रनबाट बचाउनु प्रमुख दायित्व हुन्छ।
मूत्र सञ्चालन र प्रोस्टेट ग्रन्थी
आम मानिसमा मात्र होइन कि धेरैजसो चिकित्सकहरूमा पनि प्रोस्टेट ग्रन्थी बढेर धेरै तौल भएपछि मात्र खतरनाक अवस्थामा पुग्छ भन्ने भ्रमपूर्ण सोच रहेको छ। प्रोस्टेट ग्रन्थी १०–२० ग्रामसम्मको हुनु नियमित प्रक्रिया मानिन्छ। त्यो भन्दा बढी तौल हुँदै गए त्यसको वृद्धि भएको मानिन्छ। तर कति तौल भएको प्रोस्टेट ग्रन्थीले मूत्र सञ्चालनमा कुन प्रकारको हानि नोक्सानी निम्त्याउन सक्छ त्यो व्यवहारमा कसैले भन्न सक्दैन। कति तौल भएपछि पिसाब रोकिन सक्छ? कुन तौल पुग्दा मूत्रथैलीमा संक्रमण हुन्छ? कुन तौलमा पत्थरी बन्न सक्छ? कुन तौलसँग मूत्र रक्तस्राव हुन्छ? यस्ता प्रश्नको उत्तर कसैले भविष्यवाणी वा पूर्वानुमान गर्न सक्दैन। तौल एकमात्रको मापदण्ड वा कसौटीमा यति ग्रामको ग्रन्थीले यस्तो गर्छ भन्न मिल्दैन।
ग्रन्थीको कुन ठाउँ वृद्धि भएको छ, ग्रन्थी बढेर मूत्रथैलीको घाँटीभित्र छिरेको छ वा छैन र त्यसले मूत्रनलीबाट मूत्र प्रवाहमा कत्तिको अवरोध गरेको छ, त्यसको विस्तृत परीक्षण हुनुपर्छ। मूत्रथैलीको मांसपेशी र स्नायुको अवस्था कस्तो छ त्यसले पनि मूत्र बेग र मूत्र सञ्चालनको गति निर्धारणमा ठूलो असर गर्छ। मूत्रथैलीको मांसपेशी कमजोर र स्नायु सिथिल अवस्थामा भए ग्रन्थीले मूत्र नलीलाई खासै नछेकेको भए पनि मूत्र सञ्चालन राम्रो हुन सक्दैन। शरीरमा त्यस्तो अवस्था पनि हुनसक्छ जहाँ ग्रन्थी बढ्नुको सट्टा सुकेर प्रोस्टेट ग्रन्थीले घेरेर राखेको मूत्रनलीको भागलाई साँघुरो पार्छ र मूत्रथैलीको मांसपेशी र स्नायुलाई सिथिल बनाउँछ।
त्यस्तो अवस्थामा मूत्र प्रवाह ज्यादै कमजोर हुने र पिसाब फेरिसकेपछि थैलीमा थुप्रै पिसाब बाँकी रहन्छ। प्रोस्टेट ग्रन्थीको अरू भाग खासै वृद्धि नभए पनि मूत्रनलीको बाहिरी सतहमा भएका ग्रन्थी वृद्धि भएर मध्यभागको उत्पत्ति भए मूत्र निष्कासनमा ठूलो अवरोध उत्पन्न गराउँछ। यो अवस्थामा समुच्च ग्रन्थीको तौल २५ वा ३० ग्राममात्र छ भनी ढुक्क भएर औषधोपचार गरेर बस्नु उपयुक्त हुँदैन। पिसाब थैलीको घाँटीभित्र आधा सेन्टिमिटरभन्दा बढी प्रोस्टेट ग्रन्थी छिरेको अल्ट्रासोनोग्राफीबाट अभिलेख आए र मूत्र थैलीमा ५०–६० मिलिलिटर भन्दा बढी ननिख्रेको पिसाब देखापरे पिसाबको बेग कमजोर भएको बिरामीको शल्य उपचार प्राथमिकतामा राख्नुपर्छ।
उपचारबारे सजगता
प्रोस्टेट ग्रन्थीको मध्य भाग बढेर मूत्र अवरोध देखा परेमा त्यसको एकमात्र प्रभावकारी उपचार शल्यक्रिया हो। औषधि उपचारबाट यस्तो ग्रन्थीलाई मूत्र सञ्चालनमा अवरोध गर्नबाट रोक्न सकिन्छ कि सकिन्न भनेर गरिएका अन्तर्राष्ट्रिय अनुसन्धानले खासै उपलब्धि दिन नसक्ने पुष्टि गरिसकेका छन्। त्यसैले औषधि उपचारमा अल्झनु भनेको शल्य उपचारलाई आधारहीन रूपमा ढिला गर्नु हो। यस्तो ढिलाइले मूत्रथैलीको मांसपेशी बढी कमजोर हुने गर्छ। फलस्वरूप थैलीमा थुप्रो पिसाब बाँकी रहन्छ। ननिख्रेको पिसाबको मात्रा बढ्दै गएमा दुवै मूत्रनली र मृगौलाको कार्य क्षमता ह्रास हुँदै जान्छ। बिरामीले यस्तो अवस्थामा शल्य उपचार नगर्नु भनेको टार्न सकिने कष्टलाई जानीजानी ग्रहण गर्नु हो।
प्रोस्टेट ग्रन्थीको शल्य उपचार परम्परागत तरिकाले चिरेर वा आधुनिक औजारको सहयोगबाट विद्युत् वा लेजरको प्रयोगबाट छालामा कतै घाउ नपारेर नै गर्न सकिन्छ।
कुन प्रकारको शल्यक्रिया गर्ने त्यस्सको निर्णय लिन आधुनिक औजार र ऊर्जाको उपलब्धतामा मात्र होइन कि शल्य चिकित्सकको प्रशिक्षण र अनुभवको आधारमा पनि भरपर्ने हुन्छ। यो निर्णय लिँदा बिरामी र उसका नातेदारहरूसँग परामर्श गरेर प्रत्येक उपलब्ध शल्य विधिका फाइदा/बेफाइदाबारे सूचना प्रवाह गर्नुपर्छ। त्यसपछि मात्र सबै सूचनाको आधारमा दुवैतर्फलाई मान्य हुनेगरीकन निर्णय लिनुपर्छ। शल्य चिकित्सकले शल्य विधि छनोटमा सहयोग पुर्याउन सूचना प्रवाह गर्दा प्रत्येक व्यक्तिको निम्ति अलग्गै त्यस्तो निश्चित रणनीति अपनाउनुपर्ने हुन्छ जुन बिरामीको निम्ति सबै दृष्टिकोणले उत्तम हुन सकोस्।
पछिल्ला १० वर्षमा हाम्रो देशमा थुप्रै निपुण शल्य चिकित्सकहरू तयार भइसकेका छन्। यही अनुपातमा युरो सर्जन संख्या पनि बढिरहेछ। तर, पनि हाम्रो न्यूनतम शल्य चिकित्सक आवश्यकता पूर्ण गर्न भने अझै थुप्रै चिकित्सकलाई शल्य चिकित्सक र युरो सर्जन हुन लगानी र मौका प्रदान गर्नुपर्ने छ।
इच्छुक, निरन्तर खट्न सक्ने र खट्न रुचाउने, देश र पेसाप्रति इमानदार र लगनशील भर्खरका कर्मठ चिकित्सकहरूमध्ये धेरैलाई ठूलो लगानी लगाएर भए पनि मौका दिएर विशेषज्ञ बनाउनु आजको चिकित्सक समुदाय, निजी उपचार गृह र स्वास्थ्य मन्त्रालयको दायित्व हो। चिकित्सकका साथै यस्ता बिरामीलाई सेवा दिने र शल्यक्रियामा सहभागी हुने नर्सहरूको दक्ष जनशक्तिबारे उचित ध्यान दिनु अनिवार्य हुन्छ। त्यसो गर्न सकेमा प्रत्येक प्रादेशिक कन्ेद्रमा प्रोस्टेट ग्रन्थीको शल्यक्रिया व्यवस्थित गर्न सकिनेछ। यसले पुरुष आयु वृद्धिका साथै बढ्दै गएको प्रोस्टेट ग्रन्थीबाट हुनसक्ने मूत्र अवरोधको समस्या न्यूनीकरण गर्न सहयोग पुग्ने छ।
वरिष्ठ कन्सल्टेन्ट युरोलोजिस्ट भट्ट मेडिकेयर नेसनल हस्पिटल एन्ड रिसर्च सेन्टरसाग आबद्ध छन्।
Source:www.ekantipur.com

Post a Comment