असार १२, २०७३- प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति तथा किराँत संस्कृतिविज्ञ बैरागी काइँला प्राचीन जाति किराँतको भाषा र संस्कृति लोपोन्मुख रहेको बताएका छन् । ‘किराँत राई सांस्कृतिक कलाकार संघ ललितपुरले शुक्रबार राजधानीमा गरेको ‘मुन्धुमी सांस्कृतिक कार्यक्रम’मा काइँलाले उक्त विचार व्यक्त गरेका हुन् । काइँलाले राई र लिम्बूको दुई हाँगा सांस्कृतिक मान्यता रहेको बताए ।
‘राईले तीनचुला र लिम्बूले धुरीखाँबोलाई अत्यधिक महत्त्व दिएर पूजा गर्दछन्,’ आदिम कालदेखि चलेको परम्पराको चर्चा गर्दै उनले भने, ‘चुलामा आगो निभ्नु हुँदैन भन्ने उनाजुगौं देखिको परम्परा निरन्त अनुकरण गर्दै छौं । आफ्नो भाषा र संस्कृतिको सम्वद्र्धनमा स्टेजभन्दा पर गाउँसम्म प्रेरणा मिलोस् ।’
काइँलाले राष्ट्रिय नाचघरको स्टेजमा सजिएको किराँती चुलामा चकमकले आगो बालेपछि मुन्धुमी संस्कृतिको उद्घाटन भएको थियो । स्टेजको पृष्ठभूमिका ठूलो चिण्डो, फुसको घर, दायाँ–बायाँ धुनषवाण, बिनायो र मुर्चुंगा सजाइएको थियो । कलाकारले ढुङुढुङु ढोल र झ्याम्टा बजाउँदै गोलाकार साकेला नाच्न थाले । ढोल, मादल, बाँसुरी, मुर्चुङ्गा, पियानो र गिटार बाजा बाजाएर दर्शकलाई मोहित तुल्याए ।
त्यसपछि किराँती मिथक ‘तोरेम्पा’ को गीत गाउन थालिन्, गायिका जानुका राईले । जाँडको भोगी पात्र तेरेम्पाको आत्मालाई बोलाउँदै धामीले ढ्यांग्रो बजाउँदै नाचे भने ढोलहरूले ढोल ठटाए । किराँती समाजमा विवाहोत्सवमा गायिने हियारी संगीत तथा नृत्य कलाकारले अभिनयसहित प्रस्तुत गर्दा दर्शकदीर्घामा हाँसो गुन्जिएको थियो । ‘थिबिया’ गीति नाटकमा कलाकार पशुपति राईले जीवन्त अभिनय गरे भने गायिका आभा मुकारुङले ‘आदिम पुर्खा’ गीत गाइन् । गायक भीषण मुकारुङ, नवीन राई, कला राई, सुजाता राई, रेवत राई, मुकेश र इन्द्रकला राई, निश्चल राईले पनि गाए ।
Source:www.ekantipur.com

Post a Comment