डोमसँगका सम्झना–बिर्सना - Updated News

Unordered List

test banner

Breaking

Home Top Ad

Responsive Ads Here

Post Top Ad

Responsive Ads Here

Tuesday, June 28, 2016

डोमसँगका सम्झना–बिर्सना

असार ४, २०७३- सप्तरी जिल्लाको गोइठी गाउँमा मेरो बाल्यकाल बितेको हो । घरको अगाडि दुइटा पोखरी छन् । पोखरीको डिलमा प्रशस्त बाँसका झाडी, रूख, बिरुवाहरूछन् ।३५/४० वर्षअघि गाउँमा कसैको घरमा शौचालय थिएन । मानिसहरूशौचकालागि त्यही झाडी वा अलिक परको खेत, खोला, खोल्सी प्रयोग गर्थे ।हरेक दिउँसो हूलका हूल सुँगुरचर्न आउँथे ।सुँगुरले मानिसका दिसा–पिसाब खान्थे । सुँगुरको हूलको पछि–पछि कहिले पाका उमेरका महिला वा पुरुष हुन्थे भने कहिले हाम्रै उमेरका बच्चाहरू । अभिभावकबाट हामीलाई सचेत गराइएको हुन्थ्यो, ती डोम हुन्, तिनको जीउमा छुनु हुँदैन । जीउमा छोइयो भने गंगा स्नान जानुपर्छ । गंगास्नान नगएसम्म गोसाइँ घर(कुलदेउताको घर) पस्न पाइँदैनभनिन्थ्यो । कोही–कोही मानिसले डोमको जीउ छोए भने गंगाजल छर्केर पवित्र पारिन्थ्यो ।
कहिलेकाहीं ती डोम, डोमिनीहरू हाम्रो घर–आँगनमा पनि आउँथे । गाईवस्तुको गोबर जम्मा गर्न, घाँसपात ओसारपसारमा प्रयोग हुने दौरा–दौरी, ढकिया, छिटातिनैसँग किनिन्थ्यो । गोसाइँघर, भान्साघरमा प्रयोग हुने दौरी, चागेरा, चागेरीहरू पनि तिनीहरूबाटै खरिद गरिन्थ्यो । ती सामग्री किन्दा डोमले पहिला भुइँमा राख्थे, त्यसपछि आमाले पानी छर्किनुहुन्थ्यो, अनि घर भित्र्याइन्थ्यो ।लेनदेनको मामिलामा हामी केटाकेटीलाई खासै मतलब हुँदैन्थ्यो । मतलब केवल एउटै कुराको हुन्थ्यो कि डोमको जीउमा छुनु हुँदैन ।पूरापूर सतर्क हुन्थ्यौं हामी ।
  • ‘मैले दिएको डाली, पाथी लिएर देउता र पितृको पूजा हुन्छ, भन्नुस् हजुर– तैपनि म किन अछूत भएँ ?’
  • ‘मेरो परिवार, समाज, पुर्खाहरूबाट जान–अञ्जानमा तपाईं वा तपाईंको जात, समुदायसँग अनेकौं प्रकारको विभेद हुनगयो होला । हामी तपाईंलगायत ती सम्पूर्णसँग क्षमायाचना गर्छौं ।’
गाउँमा कुनै ठूला भोज हुँदा डोमहरूको समूह नै आउँथ्यो । म सानो छँदा पिताजीको हजुरआमाको देहान्तमा खैलसा (लगभग जिल्लाको आधा भागको) को भोज गरिएको थियो । सयौं स्वजातीय मान्छेहरू त्यस भोजमा सहभागी भएको सम्झना छ । पहिला–पहिला मिथिलामा हुने भोजहरू प्राय: भुइँमा लहरै सयौं मानिसलाई एकैपटक पात बिछ्याएर खुवाइन्थ्यो ।
अचेल टेन्टमा टेबुल–कुर्सीको चलन पनि छ । त्यस्तो भोजको बेलाचारैतिर तीनथरीका समूह सतर्कताकासाथ उभिरहेका हुन्थे । एउटा लाठी लिएर केटाकेटी र युवाहरूको समूह हुन्थ्यो, जसले कुकुरहरूलाई छेक्ने, धपाउने काम गथ्र्यो। यो समूह भोजस्थलको अत्यन्त नजिक हुन्थ्यो ।कहिलेकाहीं कुकुरहरू खानाको लोभमा भोज चलिरहेकै बेला बीचैमा छिर्थे । दोस्रो अलिक पर डोमहरूको समूह हुन्थ्यो, तिनीहरू पनि कुकुरलाई नै छेकेर बसेका हुन्थे । अनि सबैभन्दा पर कुकुरहरू झुन्डका झुन्ड हुन्थे । कतिबेला भोज सकिएला र पातमा उब्रेको खाना लुछ्न पाइएलाजस्तो गरेर तम्तयार हुन्थे उनीहरू ।
भोज सकिसकेपछि केही डोम कुकुर धपाउन लाग्थे भने केही पातमा उब्रेको जुठो सोहर्न । सुनिएअनुसार, तिनीहरू त्यो जुठो खान्थे ।
.........

एसएलसी नदिइन्जेल आफ्नो गाउँ गोइठी र स्कुल भएको गाउँडिमनबीच वर्षौंसम्म ओहोरदोहोर गरिरहँदा पनि बाटोमा पर्ने डोमबस्ती र तिनको बारेमा कहिल्यै केही सोचिएन । मनमा कुनै प्रश्न नै उब्जेन ।आईएस्सी पढ्न जनकपुर पुगेपछि हो कि बीएस्सी पढ्न काठमाडौं आएपछि हो, अन्तर्राष्ट्रिय मञ्च मासिक पत्रिकामा सर्लाहीका कांग्रेसी नेता रामहरि जोशीले मलंगवाका डोमहरूलाई पक्की घर बनाइदिएको आलेख पढेको सम्झन्छु । त्यसबापत जोशीलाई कुनै पुरस्कार दिइएको पनि त्यसमा उल्लेख थियो ।
२०६४ सालयता मधेसका विभिन्न सहरबजारमा गोष्ठी आयोजनागर्ने काममा संलग्न भइयो । गोष्ठीमा प्राय:जसो प्राध्यापक कृष्ण खनालबाट कार्यपत्र प्रस्तुत हुन्थ्यो । केही ठाउँमा प्राध्यापकहरू लोकराज बराल, कृष्ण हाछेथुको पनि कार्यपत्र पेस भयो । विषयवस्तु, प्रस्तुतिलगायत हरेक थोक उत्कृष्ट हुँदाहुँदै पनि कार्यक्रममा अधिकांश सहभागी निदाउँथे । प्रस्तोतालाई खल्लो हुन्थ्यो । अनि हामी गीत–संगीतसहितको कार्यक्रम सञ्चालन गर्ने निष्कर्षमा पुग्यौं । पात्र खोज्दै जाँदा धीरेन्द्र प्रेमर्षीलाई आग्रह गर्‍यौं । उनी तयार भए । धीरेन्द्रजीले मैथिली र नेपाली भाषामा अनेक गीत, गजल, टुक्काहरू प्रस्तुत गरेर सहभागीहरूको निद्रा भगाए। प्राध्यापकहरूका कार्यपत्र र धीरेन्द्रजीको गीत–संगीत । यो क्रम ३/४ वर्षसम्म चल्यो । त्यसमा सबैभन्दा बढी गाइने गीत हुन्थ्यो,  ‘हमरे डाला पनपथिया सा देवतो पित्तर पुजाई छै, कहु यौ बाबु तैयो हमर देह किया छुवाई छै ?’
अर्थात्‘मैले दिएको डाली, पाथी लिएर देउता र पितृको पूजा हुन्छ,भन्नुस् हजुर– तैपनि म किन अछूत भएँ?’मैथिली भाषाको यो गीत धीरेन्द्र प्रेमर्षीको रचना हो । रामा मण्डल र रूपा झाले गाएका छन् । यो गीत विशुद्धरूपमा मिथिला समाजमा डोम जातिसँग हुँदै आएको छुवाछूतसँग सम्बन्धित छ । डोमको जीवन–जगत्सँग सम्बन्धित यो गीत जतिपटक सुनेपनि डोमहरूकै अवस्थाबारे त्यति धेरै सोचिंदैनथ्यो । गीत राम्रो लाग्थ्यो । स्वर राम्रो लाग्थ्यो । कहिलेकाहीं डोमहरूको झझल्कोसम्म आउँथ्यो । बस ...!
२०६५ सालतिरको प्रसंग हो । मिथिला क्षेत्रको दलित समुदायको अवस्थाबारे एक अध्ययनको सिलसिलामा डोम जातिकै अगुवा युक्ति मरिकसँग भेटेको थिएँ, उनकै घरमा । सप्तरीको दक्षिणी भेकगोविन्दपुरमा मित्र नन्दकुमारजीको बाइकमा पुग्दा गाउँघरका बालबालिक अचम्म मानेर हामीलाई हेराहेर गरेको सम्झन्छु । छोटो कुराकानीपछि हामी त्यहाँबाट पानी पिएर फर्केका थियौं । त्यहाँयुक्तिमरिकसँगको कुराकानी स्मरणीय रह्यो ।
युक्ति मरिक सम्भवत: डोम समुदायमा सबैभन्दा बढी पढेका व्यक्ति हुन् । २०५७/५८ सालमा सप्तरीको अनेक ठाउँमा चलाइएका छुवाछूतविरुद्धको अभियानको उनी मुख्य अभियन्ता हुन्। आज धेरै चियापसलमा डोमहरूले पनि चिया खान पाएका छन्, देवीदेवताको मन्दिर प्रवेश गर्न पाएका छन् । यी सबै कार्यका लागि उनीलगायतका व्यक्तिहरूले ठूलो संघर्ष गर्नुपरेको थियो । यी सबकुरा सम्झिँदा कुनै फिल्म हेरेजस्तो लाग्छ । उनीसँगको कुराकानीपछि म ‘इमोसनल’ भएको थिएँ । दलितहरूको समग्र अवस्था अहिले पनि चिन्ताजनक छ, मधेसी दलितको त झनै । त्यसमा पनि डोमको अवस्था हृदयविदारक नै छ ।
समयक्रममा हामीले‘मधेस अध्ययन’ जर्नल निकाल्ने सुर कस्यौं । मार्टिन चौतारीका मित्रहरूसँग यसबारे छलफल गर्‍यौं । डा. प्रत्यूष वन्तको सुझावअनुसार राजेन्द्र महर्जनलाई सम्पादनकालागि आग्रह गर्‍यौं । राजेन्द्रजी, म र कृष्ण साह मिलेर लेखहरूको सम्भावित शीर्षक र लेखकको सूची बनायौं । मधेस अध्ययनको पहिलो अङ्कका लागि डोमबारेलेख्न भोला पासवानलाई आग्रह गर्ने कुरा भयो । त्यतिबेला भोलासमता फाउन्डेसनसँग आवद्ध थिए । इरिसा सुवालसँग मिलेर उनी डोम समुदायबारे एक बृहत् अनुसन्धानमा संलग्न थिए ।
भोला पासवानले डोम जातिबारे लेखेको लेख‘मधेस अध्ययन–१’ माछापियो । केहीपछि समता फाउन्डेसनको पुस्तक पनि प्रकाशित भयो । डोम जातिकाअनेक पक्षहरूसमेटिएको उक्त पुस्तक पढेपछि थप रुचि जाग्यो, यसबारे केही लेखपढ गर्न ।

.......................
म यसबारे सोच्दैं थिएँ। पत्रपत्रिकामा प्रकाशित साना–ठूला समाचारलाई पछ्याउँदै थिएँ । यसैबीच केही महिनाअघि सिरहाबाट एउटा समाचार आयो । नेपाली सिनेस्टार राजेश हमालले सिरहाको गोलबजार छेउको एउटा गाउँ पुगेर डोम जातिका मानिसहरूलाई सार्वजनिक इनारमा पानी भर्न दिन स्थानीय ‘ठूला जातका’हरूलाई आग्रह गरेको प्रसंग त्यसमा उल्लेख थियो । राजेश हमालको प्रयास सराहनीय थियो । अनुकरणीय छ ।
त्यस प्रसंगलाई लिएर कतिपय मित्रहरूले फेसबुक, ट्विटरमा ‘ट्याग’ गरेर मलाई अनेकौं प्रश्न गरेका थिए । मधेसी समाजमा यस्तो छ, तपाईंको प्रतिक्रिया आएन नि ? आदि–इत्यादि ।
राजेश हमालको प्रयासले म पनि खुसी भएको थिएँ ।स्थानीय ‘ठूला जातका’हरूप्रति मेरो पनि गुनासो थियो । तर अधिकांश मिडियामा प्रेषित समाचार र सामाजिक सञ्जालमा सोधिने प्रश्नहरूबाट के झल्किन्थ्यो भने त्यस घटनामा मधेसीहरू सबै ठूलाजातका पक्षमा, अवरोधक र पहाडेहरू जतिसबै डोमको पक्षमा मैले स्थानीय पत्रकार र प्रहरीहरूसँग घटनाबारे बुझ्ने प्रयास गरें । त्यहाँ डोमलाई अवरोध गर्ने समूहमा मधेसीहरू मात्र थिएनन्, पहाडे समुदायका मानिसहरू पनि थिए । त्यो घटनापछि मैले अलि फरक प्रकारले खोजबिन थालें ।
एनजीओलाई जसले जति गाली गरे पनि मिथिलाक्षेत्रमा डोम र चमार जातिमाथि शताब्दीऔंदेखिको छुवाछूतघटाउने कार्यमा तिनीहरूको ठूलो योगदान छ । मिडियाको भूमिका पनि कम छैन । खोजबिनबाट थाहा हुन्छ, २०५६/५७ सालतिर चमार जातिका मानिसहरूले सिरहा र सप्तरीमा चलाएको सिनो बहिष्कारको आन्दोलनमा एक्सन एड नेपालको ठूलो भूमिका थियो । विनोद बिसुंखे, दुर्गा महतो, विजयप्रसाद मिश्र, अर्जुन थपलियाजस्ता व्यक्तिहरू नभएको भए न त बलदेव राम, बद्री रामहरूको सिनो आन्दोलन यो रूपमा सफल हुने थियो, न त युक्ति मरिकहरूको मन्दिर प्रवेश आन्दोलन नै ।

मेरो खोजबिनको उद्देश्य थियो–के डोम जातिका मानिसहरूसँग अझै त्यस्तै विभेद छ, जुन मैले सानो छँदा देखेको थिएँ । केहीअघि आफ्नै गाउँका देवनारायण मरिकको घरमा जाँदा उनको बारीमा शौचालय देखें । छक्क परें । मेरो गाउँमा अहिले पनि हुने–खाने सयौं परिवारले शौचालय बनाइसकेका छैनन् । यसबारे थप जान्ने इच्छा भएर यसपटक क्यामरा बोकेरै घर गएको थिएँ ।
आफ्नो घरमै रहेका बेला मित्र दीपेन्द्र झाले फोनमा भने, ‘मधेसी समाजमा व्याप्त जातीय, लैङ्गिक, धार्मिकजस्ता भेदभावविरुद्ध हामीले सोसल मिडियामार्फत क्षमायाचना अभियान चलाउँदैछौं, तपार्इं पनि सहभागी हुने ?’
‘किन नहुने ?’ मैले तत्काल सहमति जनाएँ ।
त्यसपछि मेरो मनमा अनेक प्रसंगहरू खेल्न थाले । आखिर जातीयलगायतका सम्पूर्ण सामाजिक विभेदको मूल कारण त अशिक्षा र अन्धविश्वास हो । त्यसैले यस्ता खालका विभेद सबैभन्दा बढी गाउँमा हुन्छ । सामाजिक सञ्जालमा जोडिएका साथीहरू प्राय: सहरबजारमा बस्नेहरू हुन्छन्, जहाँ तुलनात्मकरूपमा यस्तो विभेद कम हुन्छ । त्यसैले मलाई लाग्यो, मैले देवनारायण मरिककै घरमा उनैसँग क्षमा माग्नुपर्छ, उनको घरमा चिया खानुपर्छ र त्यही सन्देशकासाथ जारी क्षमायाचना अभियानमा ऐक्यबद्धता जनाउनुपर्छ । मैले त्यस्तै गरें पनि ।फेसबुक र ट्विटरमा ती तस्बिरहरू हाल्नुअघि दीपेन्द्र झासँग पनि सहमति लिएको थिएँ । किनभने यो अभियानको सुरुवातकर्ता दीपेन्द्र र प्रशान्त झा नै हुन् । म त ऐक्यबद्धता जनाएर सहभागीमात्र भएको हुँ ।
...................
सुरुमा म देवनारायणको दरबाजामा बस्दा उनले खासै चासो राखेनन् । बाँसको चोया बनाउने काममा व्यस्त थिए । कुराकानी थालें, शौचालयकै प्रसंगबाट । त्यसपछि मात्र प्रवेश गरें, क्षमायाचनातर्फ । थप कुरा गर्नुअघि चिया खुवाउनुहुन्छ भनेर सोधें ।
‘किन नखुवाउनु,भइहाल्छ नि ।’
देवनारायणले हाँसेर जवाफ दिदै आँगनमा गएर श्रीमती ममतालाई चिया पकाउन भने । त्यतिबेलाको दृश्य झनै विशेष थियो । ममताले आश्चर्यचकित मुद्रामा आँगनबाट हामीतिर हेरिन् । अम्खोरा लिएर गाउँतिर दौडिहालिन् ।
‘दूध ल्याउनु पर्दैन । कालो चिया खान्छौं,’हामीलेभनिराख्यौं तर उनी रोकिइनन् । एकछिनमै उदास भएर फर्केर आइन् र भनिन्, ‘भैंसी दुहिसकेको रहेनछ । कालै चिया पकाउँछु ।’
ममता एकैछिनमा चिया लिएर आइन् । म, मसँग गएका साथी कपिलेश्वर सरदार र देवनारायण तीनैजना चिया पिउँदै गफिन थाल्यौं ।

‘तपाईंहरू यहाँ बसेको कति वर्ष भयो होला ?’
‘२५/३० वर्ष भयो होला । यसअघि कुनैपनि परजाइत (अन्यजातिका मानिस)ले हाम्रो घरमा चिया खाएको थिएन । तपाईं पहिलो हो,’ देवनारायणले भने ।
मैले दुई हात जोडेर माफी मागें, ‘मेरो परिवार, समाज, पुर्खाहरूबाट जान–अञ्जानमा तपार्इं वा तपाईंको जात, समुदायसँग अनेकौंं प्रकारको विभेद हुनगयो होला। हामी केही पढे–लेखेका साथीहरू तपाईंलगायत ती सम्पूर्णसँग क्षमायाचना गर्छाैं । हामीलाई क्षमा गर्नुहोस् । यो अभियानलाई हामी निरन्तरता दिंदै सम्भव भएसम्म अगाडि बढाउनेछौं ।’
त्यसपछि मैले सोधें, ‘बच्चाहरू कतिजना छन् ?’
‘तीनजना छोराहरू छन् । दुइटा गोइठी स्कुलमा पढ्छन् । कान्छोचाहिं पोलियोले ग्रसित छ । अहिले स्कुल जाँदैन ।’
‘बच्चाहरूलाई स्कुलमा छुवाछूत गर्दैनन् ?’
‘गर्दैनन् हजुर । मास्टरसाबहरूले एकै ठाउँमा राखेर पढाउनुहुन्छ । विद्यार्थीहरू पनि छुवाछूत गर्दैनन् । हेल्थपोस्टमा जाँदा डाक्टरले पनि छुवाछुूत गर्दैन,’ममताले एकै सासमा भनिन् ।
‘त्यसो भए छुवाछूत कहाँ र कसले गर्छन् ?’

‘यही गाउँघरमा छुवाछूत गर्छन् । हाम्रो आफ्नै ट्युबवेल छ । त्यसैले अर्काकोमा पानी लिन जानुपर्दैन । आफ्नो ट्युबवेल बिग्रेको बेलामात्र अर्काकोमा जानुपर्छ । उहाँहरूले आफंै पानी भरेर दिनुहुन्छ ।हामीलाई भर्न दिंदैनन्,’देवनारायण र ममताले एकस्वरमा भने ।
देवनारायण मरिकको घरबाट फर्किंदै गर्दा गोइठी स्कुलमा उनको छोराको पढाइ र उनीसँग गरिने व्यवहारबारे बुझ्न मन लाग्यो । स्कुलभित्र पस्यौं । प्रधानाध्यापकको कोठामा झुन्डिएको क्यालेन्डरमा ‘डोम समुदायको केटाकेटी विद्यालयमा’शीर्षकको समाचारलाई फोटोकोरूपमा छापिएको देखियो । त्यस्तै देवनारायण मरिकको छोरा दीपक मरिक आफ्नो कक्षामा अन्य विद्यार्थीहरूसँग बसेर पढ्दै थिए । आफूसँग कुनै प्रकारको छुवाछूत नभएको दीपकले बताए ।
.............
नेपालभरि डोम जातिको जनसंख्या १० हजार हाराहारीमात्र छ । पूर्वमा झापादेखि पश्चिममा नवलपरासीसम्म डोमहरूको बसोबास रहेको समता फाउन्डेसनको अनुसन्धानले देखाएको छ । सबभन्दा बढी जनसंख्या सप्तरी र सिरहामा छ । तिनीहरूको आर्थिक विकास, शिक्षा, स्वास्थ्य, गरिबी निवारण र रोजगारकालागि सोच्ने पहिलो कर्तव्य राज्यको हो । हामीले त्यसलाई सघाउनुपर्छ तर छुवाछूतविरुद्ध राज्यले वर्षौंअघि कानुन बनाइसक्दा पनि ग्रामीण भेकमा समस्या जस्ताको तस्तै छ । त्यसैले हामी नागरिक र हाम्रो समाजको प्रमुख कार्य छुवाछूत हटाउनु हो । क्षमायाचना अभियानले त्यस्तो गर्लाजस्तो लाग्छ ।
केही साताअघि एमाले नेता रवीन्द्र अधिकारीसँग मधेसको विकासबारे इमेलमा छलफल भएको थियो । मैले इमेल मार्फत नै सल्लाह दिएको थिएँ, ‘हालको सरकार गठन हुँदा एकवर्षभित्र पहाडी भेकको तुइन विस्थापन गर्ने निर्णय गरेजस्तै आगामी आर्थिक वर्षभित्र सम्पूर्ण डोम जातिको परिवारमा शौचालय बनाउने घोषणा होस् ।’ तर बजेटमा यो कुरा आयो/आएन, ‘फलोअप’ गरेको छैन ।
डोमलगायत अति सीमान्तकृत समुदायकालागि गर्नुपर्ने कुरा अनेक छन् ।मेरो बुझाइमा अहिलेसम्म उनीहरूलेअरूलाई नेता बनाउन भोटमात्र दिंदैआएका छन् । केहीयता सामाजिक स्वीकार्यताका लागि लड्न थालेका छन् । तर जब दलितहरूको यो लडाइँ राजनीतिक उद्देश्यका साथ सुरु हुन्छ, तब अरू ठाउँको त भन्न सकिन्न तर मिथिलाको राजनीति पूर्णरूपेण भारतको विहार र उत्तरप्रदेशको जस्तो हुनेछ । मिथिलामा पनि रामविलास पासवान र मायावतीहरूको उदय अवश्य हुनेछ । प्रतीक्षा छ भने केवल काशीरामको ।
Source:www.ekantipur.com

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages