0
असार ६, २०७३- किशोरावस्थामा आफूखुसी गर्दा के भोग्नुपर्छ ? यसैको जवाफझैँ रहेको नाटक शनिबार शिल्पी थिएटरमा मञ्चन गरियो ।
कलाकार अजय अधिकारी ‘सुशील’ को लेखन/निर्देशन रहेको नाटक ‘कमल फर्किएन’ को कथा गाउँबाट सुरु हुन्छ । मुख्य पात्र कमल नपढी हाटबजार मात्रै घुमी हिँड्न थाल्छ, एक दिन आमालाई पत्तो नदिई सहर हान्निन्छ । तर सहर सोचेजस्तो सजिलो हुँदैन । ऊ एउटा घरमा काम गर्न बस्छ । पछि घरबेटीको विश्वासपात्र बन्छ ।

कुनै दिन कमललाई नै घर जिम्मा लगाएर घरबेटी विदेश जान्छन् । कमलले भने त्यसपछि घरमा रजाइँ चलाउने र केटी ल्याउने, मस्ती गर्ने काम गर्न थाल्छ । पछि तिनैमध्येकी केटीले उसलाई लागूपदार्थ ओसारपसारको झुटो मुद्दामा फसाएर जेल हाल्छे । घर फर्काउन छोरो खोज्दै आएकी आमाले जेलमा भेटछन् । तर सजाय भुक्तान नभइसकेकाले छोरालाई घर लान पाउँदिनन् ।

आफूले आफूलाई नै बिर्सिएर गलत बाटो समात्दाको परिणामलाई नाटकले देखाउन खोजेको निर्देशक अजयले बताए । गाउँमा आमाको माया मिसिएको ढिँडो र गुन्द्रुकमा नाक फालेर सहर भागेको छोरोले बल्ल त्यसको महत्त्व बुझ्छ ।

नाटकमा करिना कक्षपति, स्वीकृति नेपाल, राजकमल खरेल, डोमा तामाङ, गोपाल गिरी, दिनेश रसाइली, सुमन बैंजू, प्रतीक नेपाल, एलिना कोइराला, प्रभाकर सिग्देल, पुरुषोत्तम चौलागाईं लगायतको अभिनय रहेको छ । सबै कलाकार यसै पालिका एसएलसी पासआउट हुन् । 
Source:www.ekantipur.com

Post a Comment

 
Top