असार ८, २०७३- राजमार्गमा हुने दैनिक दुर्घटना न्युनिकरण तथा घटनापछिका अवरोध अन्त्यमा प्रहरीले सक्रियता बढाएको छ ।
प्रहरीले घटनाको २० मिनेटमा यातायात सुचारु गर्ने अभियान थालेको हो । जुवातास लगायतका दुव्र्यसनी विरुद्ध पनि निगरानी बढाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक सुरेन्द्रबहादुर गुरुङले बताए ।
प्रहरीले आँबु खैरेनी–६ मा संचालित मिनि क्यासिनोमा छापा मारेर संचालक रमेशकुमार श्रेष्ठ सहितका २० जुवाडे पक्राउ गरेको छ । १ लाख २१ हजार रुपैयाँ नगद पनि बरामद गरेको उनले बताए ।
राजमार्गका सवारी दुर्घटनामा पीडित पक्षले राजमार्ग अवरुद्ध गर्न खोज्दा हरेक घटनाको २० मिनेटमै सडक खुलाउने अभियान सफल बनाएको गुरुङले बताए ।
मृतक तथा घाइतेलाई उचित सम्बोधन गर्ने प्रहरीको प्रतिवद्धता र कारवाही प्रकृयालाई तत्कालै थालेपछि राजमार्गमा हुने यस्ता विभिन्न अवरोधका क्रम रोकिएको हो । मुग्लिङदेखि कोत्रेसम्म पृथ्वी राजमार्ग, डुम्रे बेसिशहर, दमौली भोर्लेटार तथा दुलेगौंडा भीमाद लगायत राजमार्गमा दैनिक सयौं सवारीमा हजारौं यात्री आउजाउ गर्छन् ।
‘घटना भएको थाहा पाएमा तत्कालै पुगेर राजमार्ग अवरुद्ध नहुने वातावरण मिलाउँछौं,’ गुरुङले भने, ‘यात्रीलाई सुरक्षित गन्तव्यमा पुर्याउने र कुनै घटना हुन नदिने हाम्रो प्रयास छ ।’ प्रहरीको सक्रियता बढेमा शान्ति सुरक्षा राख्न सकिने उनले बताए ।
जिल्ला प्रहरीले घटना न्युनिकरण र घटनाबाट राजमार्ग अवरोध नहोस् भन्ने लक्ष राखेर काम गरेको प्रहरी उपरिक्षक कृष्णबहादुर महतले बताए । ‘अत्यावस्यक सेवा अन्र्तगत राजमार्गलाई लिएका छौं,’ महतले भने, ‘जिल्ला तहमा हुने कुनैपनि गुण्डागर्दी र अनैतिक काम लाइ प्रहरीले सक्रियताका साथ रोक्नेछ ।’
गुरुङका अनुसार पछिल्लो दुइ महिनामा प्रहरीले गैरकानूनी काममा संलग्न १ हजार ६ सयलाई पक्राउ गरी कारवाही गरेको तथ्यांक छ । उक्त अवधिमा प्रहरीले ८ लाख ५२ हजार रुपैयाँ राजश्व पनि संकलन गरेको छ । दुई महिनामा कर्तव्य ज्यानका १, ज्यानमार्ने उद्योग गर्ने २ जना लाइ पक्राउ गरी अदालतमा पेश गरिसकेको छ । २१ दुर्घटनामा ३ को मृत्यु र २६ घाइते भएको गुरुङले जानकारी दिए।
Source:www.ekantipur.com

Post a Comment