जेष्ठ २८, २०७३- एलिस्टर कुक टेस्ट क्रिकेटमा सर्वाधिक रन बनाउने ओपनिङ ब्याट्सम्यान बनेका छन् । २९ औं शतक बनाउन चुकेका इंग्ल्यान्डका कप्तान कुक बिहीबार श्रीलंकाविरुद्धको तेस्रो टेस्टको पहिलो दिन ८५ रनमा आउट भए ।
पहिलो दिनको खेलको पछिल्लो स्थितिमा टस जितेको इंग्ल्यान्डले ५ विकेट गुमाई २ सय २० रन बनाएको छ । जोनी बेयरस्टोव ७६ र मोइन अली २० रन बनाई क्रिजमा छन् । यी दुईले ५९ रनको साझेदारी गरिसकेका छन् । पहिलो टेस्टका ‘म्यान अफ द म्याच’ बेयरस्टोवले १ सय १३ बलको इनिङ्समा ११ चौका प्रहार गरिसकेका छन् । दोस्रो टेस्टमा नटआउट १ सय ५५ रन बनाएका अली २३ रन बनाएर खेलिरहेका छन् ।
देब्रे हाते कुकले १ सय ७३ बलको इनिङ्समा ९ चौका प्रहार गरे । नुवान प्रदीपले उनलाई एलबीडब्लू आउट गरे । दोस्रो टेस्टका दौरान टेस्ट क्रिकेटमा १० हजार रन पूरा गरेका कुक सर्वाधिक टेस्ट रन बनाउने सूचीमा भारतका सुनील गावस्करलाई उछिन्दै ११ औं स्थानमा आएका छन् । गावस्करको १० हजार १ सय २२ रनलाई उछिनेका कुकले १० हजार १ सय २७ रन पुर्याइसकेका छन् । गावस्कर यसअघि टेस्टमा सर्वाधिक रन बनाउने ओपनिङ ब्याट्सम्यान थिए ।
इंग्ल्यान्डको ८४–४ को दयनीय स्थितिलाई सुधार्नेक्रममा कुकले बेयरस्टोवसँग पाँचौं विकेटमा ८० रनको महत्त्वपूर्ण साझेदारी गरे । कुकको विकेटले प्रदीपलाई राहत प्रदान गरेको थियो । प्रदीपले नै बेयरस्टोव ११ रनमा हुँदा क्याच छाडेका थिए ।
कुकले एलेक्स हेल्ससँग पहिलो विकेटका लागि ५६ रनको साझेदारी गरी इंग्ल्यान्डलाई राम्रो सुरुआत दिलाएका थिए । हेल्सलाई १८ रनमा रंगना हेराथले आउट गरे । त्यसपछि इंग्ल्यान्डको लगातार जस्तो विकेट पतन हुन थाल्यो । सुरन्गा लकमाले निक कोम्प्टोनलाई १ र जोए रुटलाई ३ रनमा आउट गरेपछि इंग्ल्यान्ड भोजनसम्म ७४–३ को स्थितिमा पुगेको थियो ।
जेम्स भिन्स १० रनमा प्रदीपको सिकार भएपछि इंग्ल्यान्डको एक सय रन पुग्नु अगाडि नै चौथो विकेट खसेको थियो । पछिल्ला सात इनिङ्समा इंग्ल्यान्डले ५ पटक १ सय रनमुनिमा चार विकेट गुमाइसकेको छ । इंग्ल्यान्डले २–० को अग्रतासँगै शृंखला यसअघि नै जितिसकेको छ ।
Source:www.ekantipur.com

Post a Comment