0
असार ५, २०७३- साहित्यकार र पाठकबीचमा शनिबार ‘निर्वाण’ का लेखक घनश्याम खड्का उभिए । उनलाई यसरी उभ्याउने काम नेपाली लेखक संघ, हामीले नगरे कसले गर्ने र सुनगाभा बुक हाउसले संयुक्त रूपमा गरेका थिए ।
खड्कालाई उपन्यास ‘निर्वाण’ माथि परिचर्चा गर्न निम्ताइएको थियो । सुरुमै पुस्तकबारे साहित्यकार सुरेन्द्र अस्तफलले टिप्पणी गरे । ‘पुस्तकको आवरण राम्रो लाग्यो,’ उनले भने, ‘यसमा भावातीत प्रेम कथा छ ।’ डा. केशवराज चालिसेले पुस्तकमा निर्वाणलाई नयाँ किसिमबाट परिभाषित गरिएको बताए । युवा कथाकार रत्नमणि नेपालले निर्वाण जीवन बदल्ने पुस्तक भएको टिप्पणी गरे ।
‘पठनीय किताब छ, जीवन बदल्ने प्रेरणा मिल्छ,’ उनले भने । जिल्ला न्यायाधीश टेकनारायण कुँवरले जीवन र जगत्लाई विश्लेषण गरिएको गहकिलो कृति भएको दाबी गरे ।
स्रष्टा उदय अधिकारीले गहन विषयलाई यस्तो भाषामा उतार्नु चानेचुने कुरा नभएको भन्दै भाषाको प्रशंसा गरे । उद्योग वाणिज्य संघ चितवनको सभाहल आयोजित कार्यक्रममा साहित्यकार, विद्यार्थी र सञ्चारकर्मीको उपस्थिति थियो । पुस्तक प्रकाशक अल्केमीका अध्यक्ष विमल खड्काले पूर्वीय दर्शनलाई बोकेको आख्यान ‘निर्वाण’ भएको
दाबी गरे ।

साहित्यकार प्रेमविनोद नन्दन, सन्तोष परियार, टीकाराम रेग्मी, डा. एकनारायण पौडेल, लक्ष्मण भण्डारी, विनोदबाबु रिजालले पनि बोले । स्रष्टा र पाठकको कृतिप्रतिको जिज्ञासा मेट्ने काम खड्काले गरे ।
‘जीवन बदल्नका लागि पत्रकारिताले समेट्न नसकेको कुरा मैले यो उपन्यासमार्फत ल्याउनुपरेको हो,’ खड्काले भने, ‘खुसी र आनन्द हरेक मान्छेको खोजी भए पनि उपयुक्त बाटो फेला नपर्दा मान्छेहरू दु:खी र विक्षिप्त छन् ।’ पूर्वीय दर्शनमा परमानन्दको अवस्थालाई निर्वाण वा मोक्ष भनिएको र त्यहाँसम्म पुग्ने विधि बताइएको छ । त्यही दर्शनमा आधारित भएर यो पुस्तक लेखिएको खड्काले तर्क गरे ।
Source:www.ekantipur.com

Post a Comment

 
Top