0
जेष्ठ २५, २०७३- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाल क्रिकेट संघ (क्यान) निलम्बन रहेको अवस्थामा हाललाई पदाधिकारी तोकेको छ । आईसीसीले नेपालबाट स्थानीय तहमा सघाउनका लागि भावना घिमिरेलाई जिम्मेवारी दिएको छ ।
आईसीसीको डेभलपमेन्ट प्रमुख टिम एन्डरसनले हालै पठाएको पत्रमा त्यो उल्लेख छ । एन्डरसनले उक्त पत्र निर्वाचित क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सरकारी मान्यता प्राप्त क्यानका अध्यक्ष रमेश सिलवाल, घिमिरे र राष्ट्रिय खेलकुद परिषद्लाई पठाएका छन् । मंसिरको अन्तिम साता चन्दलाई अध्यक्ष चुन्दै क्यानको साधारणसभा भएको थियो ।
तर आफ्नो निर्देशन नमानेको भन्दै परिषद्ले त्यसलाई मान्यता दिएको छैन । त्यसको केही समयपछि परिषद्ले सिलवालको अध्यक्षतामा क्यानको तदर्थ समिति गठन गरेको थियो । निर्वाचित समितिले क्यानको प्रमुख कार्यकारी अधिकृतका रूपमा रहेकी घिमिरेको सम्झौता सकिइसकेको जनाई उनलाई बिदाइ गरिसकेको छ ।
क्यान तदर्थ समितिले भने घिमिरेको सम्झौता ५ वर्षका लागि नवीकरण गरेको छ । नेपाली क्रिकेट विवाद सतहमा देखिएपछि आईसीसीले अघिल्लो महिना क्यानलाई निलम्बन गरेको थियो । वैशाखको पहिलो साता विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालको नामिबियासँगको खेल आईसीसीले आफ्नै पहलमा आयोजना गरेको थियो ।
आईसीसीले त्यसैलाई निरन्तरता दिंदै क्यान निलम्बनमा रहेसम्मका लागि घिमिरेलाई ‘अप्रेसन’ हेर्ने जिम्मा दिएको जनाएको छ । आईसीसीले आवश्यक परेमा स्थानीय तह र अन्तर्राष्ट्रिय रूपमा सहयोग लिन सक्ने एन्डरसनको पत्रमा जनाइएको छ ।
त्यस्तै छनोट समितिको जिम्मा प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्कालाई दिइएको छ । आईसीसीको एसिया डेभलपमेन्ट अफिसर वैकटपथी राजु छनोट समितिको सल्लाहकारका रूपमा रहनेछन् ।
 
नेपालले आईसीसीको प्रतियोगिता खेल्दा र त्यसको तयारी गर्दा लाग्ने खर्च विश्व क्रिकेटको सर्वोच्च संस्थाले नै बेहोर्ने जनाएको छ । तर त्यो रकम क्यानलाई रोक्का गर्दै आएको रकमबाट काटिएर दिइने आईसीसीले जनाएको छ ।

आईसीसीले कुनै रकम क्यानलाई नपठाउने पनि स्पष्ट पारेको छ । आईसीसीले फितलो व्यवस्थापनका कारण क्यानलाई सन् २०१४ को अन्तदेखि दिने लगभग सबैखाले अनुदान रोक्का गर्दै आएको छ । आईसीसीले क्यानलाई दिन रोक्का गरेको रकम १० लाख डलर माथि पुगेको छ ।
नेपाल जुलाई १९ मा मेरिलोबोन क्रिकेट क्लबसँग च्यारिटी म्याच खेल्न इंग्ल्यान्ड जाँदैछ । सोही क्रममा नेपालले लन्डनमा केही अभ्यास खेल पनि खेल्ने बताइएको छ । त्यस्तै विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाल अगस्ट १३ र १५ मा नेदरल्यान्ड्ससँग त्यही गएर खेल्दै छ ।
Source:www.ekantipur.com

Post a Comment

 
Top