0
असार ५, २०७३- नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा ‘पल्सर स्पोर्ट्स अवार्ड २०७२’ साउन ६ गते हुने भएको छ । उक्त घोषणा आइतबार गरिएको हो ।
महाभूकम्प गएपछि २०७१ सालको अवार्ड सम्भव भएको थिएन । नेपाली खेलकुदको सबभन्दा प्रतिष्ठित् पल्सर स्पोर्ट्स २०७२ समारोह कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ ।
आठ विधा समावेश गरिएको अवार्डमा २०७२ सालभरि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा गरिएको प्रदर्शनको आधारमा खेलाडीको मनोनयन तथा विजेताको घोषणा गरिनेछ ।

मञ्चले मुख्य प्रायोजक हंशराज हुलाचन्द एन्ड कम्पनी प्रालिसँग आइतबार नै सम्झौता गरेको छ । सम्झौता–पत्रमा मञ्चका अध्यक्ष महेश आचार्य र हुलास चन्द एन्ड कम्पनीका कार्यकारी निर्देशक शेखर गोल्छाले हस्ताक्षर गरे ।
‘मञ्चसँग यो अवार्डमा सहभागी भएको सात बर्ष बितेको थाहै भएन,’ सम्झौतापछि गोल्छाले भने, ‘नेपालमा भइरहेका अवार्डहरुमध्ये यो उत्कृष्ट छ । यो सम्झौतासँगै अर्को ५ बर्षसम्म हाम्रो सहभागिता हुने निर्णय गरिसकेका छौं ।’ प्रायोजन १५ लाख रुपैयाँ बराबरीको हुने उल्लेख गर्दै उनले थपे, ‘कार्यक्रमअनुसार रकम हरेक बर्ष बढाउनेछौं ।’
खेलकुदले हिमाल, पहाड र तराई जोडेर राखेको उल्लेख गर्दै उनले भने, ‘खेलले अनुशासन सिकाउँछ र अहिले देशमा यसको खाँचो छ । सरकार र निजी क्षेत्रले खेलकुदमा ठूलो लगानी गर्नु अत्यन्तै जरुरी छ, जुन समाज र राष्ट्रको लागि आवश्यक छ । खेलमा गर्ने लगानीले प्रतिफल पनि दिन्छ ।’
‘अवार्ड मञ्चको मात्र होइन, समग्र नेपाली खेलकुदको कार्यक्रम हो । यसलाई उत्सवको रुपमा मनाउनुपर्छ,’ मञ्चका अध्यक्ष महेश आचार्यले भने, ‘२५ हजार रुपैयाँबाट सुरु भएको अवार्ड यसपाली ३० लाखको बजेटमा हुनेछ ।’ कार्यक्रम सफलतापूर्वक सञ्चालन गर्न ११ उपसमिति गठन गरिएको छ ।
वर्षका उत्कृष्ट पुरुष र महिला खेलाडी तथा भोटको आधारमा हुने लोकिप्रय खेलाडीलाई पल्सर बाइक दिइनेछ । बर्षको उत्कृष्ट युवा खेलाडी, उत्कृष्ट प्रशिक्षक, पारा एथलिट, स्पेशल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्डका विजेताले ५०–५० हजार रुपैयाँ पाउनेछन् ।
Source:www.ekantipur.com

Post a Comment

 
Top