असार ७, २०७३ गणतन्त्र र संघीयता बिरोधी अभिब्यक्ति दिएको भन्दै प्रतिपक्षी कांग्रेसले उपप्रधानमन्त्रीद्वय कमल थापा र चित्रबहादुर केसीलाई तत्काल हटाउन माग गरेको छ ।
संविधानले गणतन्त्र र संघीयतालाई संस्थागत गरिसकेको अवस्थामा सरकारका जिम्मेवार मन्त्रीहरुबाटै संविधान बिरोधी अभिब्यक्ति आउनु दुखद भएको कांग्रेसको भनाई छ । थापा नेतृत्वको राप्रपा नेपालले सनातन हिन्दु राष्ट्र र केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले संघीयता बिरोधी राष्ट्रिय अभियान चलाईरहेको छ ।
ब्यवस्थापिका संसदमा बिशेष समय लिएर बोल्दै सांसद रामहरी खतिवडाले संविधान बिरोधी अभिब्यक्ति दिनेलाई सरकारमा बसिरहने नैतिक आधार नभएको बताउनुभयो । गणतन्त्र र संघीयता बिरोधी अभिब्यक्ति दिनेलाई तत्काल बर्खास्त गर्न प्रधानमन्त्रीलाई खतिवडाको आग्रह थियो ।
खतिवडाले भन्नुभयो, "संविधान जारी गर्ने र गणतन्त्र संस्थागत गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने पूर्वराष्ट्रपतिलाई सेवा सुविधा छैन । गणतन्त्र र संघीयता बिरोधीलाई सुविधा सम्पन्न बनाउन मिल्छ ?"
अर्का सांसद अर्जुनप्रसाद जोशीले गणतन्त्र र संघीयता, संविधानले संस्थागत गरेकाले त्यसको बिरुद्ध अभिब्यक्ति दिन र अभियान चलाउन कसैलाई छुट नभएको बताउनुभयो । हिम्मत भए दुवै उपप्रधानमन्त्रीलाई बर्खास्त गरेर देखाउन प्रधानमन्त्री ओलीलाई उहाँको चुनौती थियो ।
यस्तै शुन्य तथा बिशेष समयमा बोल्दै सांसदहरुले अफ्गानिस्तानको काबुलमा १२ जना नेपालीको ज्यान जानेगरी हिजो भएको बिष्फोटको निन्दा गरेका छन् । उनीहरुले अफ्गानिस्तानमा रहेका कामदारको सुरक्षा प्रवन्ध मिलाउन वा फिर्ता बोलाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
Source:www.ekantipur.com

Post a Comment